लकडाउन खुलेपछि के छ फुटबलरको योजना ?

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणबाट बच्न सरकारले विगत १ महिनायता लकडाउन लगाएको छ । सरकारले शनिबार मात्रै लकडाउनको अवधि वैशाख २५ गतेसम्म थप गरेको थियो । कोरोनाको संक्रमण फैलिन नदिन गरिएको लकडाउनको कारण मानिसहरू अत्यावश्यकबाहेक अन्य कामका लागि बाहिर निस्किन पाएका छैनन् ।

लकडाउनका कारण नेपाली खेलकुद क्षेत्र समेत ठप्प रहेको छ । व्यक्तिगत सुरक्षा र जनस्वास्थ्यका लागि खेलाडीहरु पनि घरभित्र बसिरहेका छन् । दैनिक मैदानमा देखिने खेलाडीहरुको दैनिकी फेरिएको छ । दैनिकी घरभित्र सिमित हुँदा खेलाडीहरु अभ्यास गर्न र खेल्न नपाएर छट्पटिएका छन् ।

तुलनात्मक रुपमा नेपालमा अन्य देशमा भन्दा कम कोरोना संक्रमित देखिएका छन् । सरकारले समेत लकडाउन खुकुलो बनाउने बताएको छ । लकडाउन केहि खुकुलो बनाउने समाचारसँगै घरमै थुनिएका खेलाडी समेत हर्षित भएका छन् । नियमित रुपमा प्रशिक्षण गर्न पाउनेमा खेलाडी आशावादी देखिएका छन् ।

खेलपाटी संवाददाता रमेश सुवेदीले फुटबल खेलाडीलाई लकडाउन खुलेपछि तपाईँ सबैभन्दा पहिला के गर्नुहुन्छ भनेर सोधेका छन् । लकडाउन खुलेपछि फुटबल खेलाडीले आफ्नो योजना यसरी सुनाए ।

अन्जन बिष्ट (मिडफिल्डर)

लकडाउन पछि राष्ट्रिय टिमको क्याम सुरु हुन्छ । यहीँ सोचेर बेसेको छु । मानसिक रुपमा तयार भईरहेको छु । सेल्फ तयारी गरिरहेको छु । वर्क आउट गरिरहेको छु । मलाई लाग्छ लकडाउन पछि हाम्रो क्याम्प फेरि सुरुहुन्छ । त्यसैमा ब्यस्त हुन्छु । अब आउने खेलको लागि तयार हुन्छु ।

अनन्त तामाङ (डिफेन्डर)

लकडाउनपछि विश्वकप छनोट सुरु हुने भएकाले अहिले मानसिक रुपमा त्यसैको तयारी रहेको छु । पहिले भईसकेको खेल हेरिरहेको छु । आफ्नो गल्ति र राम्रो कहाँ भईरहेको छ भनेर आफै जानकारी लिईरहेको छु ।
लकडाउनपछि अभ्यासमै व्यस्त हुन्छु । सबै खेल ‘होम’ मैदानमा हुने भएकाले शारिरीक र मानसिक रुपमा तयार भएर आफ्नो टोलीलाई जति सक्दो राम्रो नतिजा दिने तयारीमा छु ।

सावित्रा भण्डारी (स्ट्राइकर)

लकडाउनपछि नियमित ट्रेनिङ छ । आफ्नो साथीहरुसँग तयारी गर्न पाएको छैन । सुरुमा अभ्यासलाई टिम साथीसँगै निरन्तरता दिन चाहन्छु । सम्भव भएसम्म राष्ट्रिय टिमका खेलाडीसँग तयारी गर्न पाए अझै खुसी भईन्छ र गरिन्थ्यो पनि । टिमसँग पहिलेको जसरी तयारी गर्न गर्ने मेरो इच्छा छ ।

एन्जिला तुम्बाप्पो सुब्बा (गोलरक्षक)

लकडाउन खुलेपछि घर जान मन छ । देशको कर्मचारी भएपछि अफिसबाट स्विकृत हुन पर्यो । विदा स्विकृत भए घर जान्छु । विदा स्वीकृत भएन भने यहि बसेर अभ्यास गर्छु । तर, पहिले घरनै जाने निर्णय लिएको छु ।

रवि पासवान (मिडफिल्डर, विंगर)

लकडाउन खुलेपछि सुरुमा त काठमाडौं जान पर्याे । अनि मैदानमा अभ्यास नपाएको धेरै भएको छ । पहिले जस्तो नियमित एक्सेसाईज अहिले नभएकाले त्यसैमा ध्यान दिन्छु । विश्वकप छनोटको लागि तयारी गर्छु । फिटनेशलाई प्रमुख ध्यानमा दिन्छु । खेलपाटीको सहयोगमा ।


प्रकाशित | १६ बैशाख २०७७, मंगलवार १३:११