यथास्थितिमा एमसिसी पारित हुन सक्दैन् : प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले यथास्थितिमा एमसिसी पारित गर्ने पक्षमा नरहेको बताउनु भएको छ । हिमालय टेलिभिजनको यक्ष प्रश्नमा राजेन्द्र बानीयाँसँगको कुराकानीमा प्रचण्डले आवश्यक परिमार्जन, संशोधन गरेर मात्र एमासिसी पारित गर्ने पक्षमा पार्टी रहेको बताउनु भएको हो ।

प्रचण्डले एमासिसीको विषयमा ब्यापक छलफल भइरहेको बताउँदै जनतामा फैलाइएका अनेक खालका भ्रमलाई भने तोड्नुपर्ने बताउनु भयो ।

त्यस्तै, पार्टीको आठौँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियामा आएपछि माओवादी कहाँ चुक्यो भन्ने विषयमा विस्तृत आत्मसमीक्षा गर्ने बताउनु भएको छ ।

प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदनमा सबैभन्दा धेरै आफ्नोबारेमा नै धेरै समीक्षा गर्ने भन्दै प्रचण्डले आफैँलाई चिरफार गर्ने, माओवादीलाई फेरि उठाउने र समाजवादी अभियानलाई अघि बढाएर नागरिक र देशको वृहत्तर हितका लागि अघि बढ्ने बताउनुभयो ।

तत्कालीन एमाले र माओवादीको एकता गर्नु कुनै गल्ती नभएको भन्दै प्रचण्डले नेकपा किन विघटन भयो भन्नेबारेमा गम्भीर समीक्षा गर्नुपर्ने पनि बताउनुभयो ।

अध्यक्ष दाहालले माओवादी केन्द्रको महाधिवेशनमा कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन चाहने र समाजवादी आन्दोलनलाई अगाडि बढाउन चाहनेहरू सबैलाई उत्प्रेरणा दिने उद्देश्यले प्रस्तुत हुने जानकारी दिनुभयो ।

 

 


प्रकाशित | ११ पुष २०७८, आईतवार २१:४६