कोरोनाले नेपाली अर्थतन्त्रमा चार अर्बसम्म क्षति हुन सक्ने एडिबीको प्रक्षेपण

काठमाडौं :  चीनबाट फैलिएर विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९० का कारण नेपालको अर्थतन्त्रमा चार अर्ब रुपैयाँसम्म क्षति हुन सक्ने प्रक्षेपण एसियाली विकास बैंक (एडिबी)ले गरेको छ ।

आन्तरिक माग, व्यापार तथा उत्पादन घट्ने, आपूर्तिमा अवरोध, पर्यटन गतिविधिमा कमी, स्वास्थ्यमा असरलगायतका कारण विश्वका अन्य मुलुकसँगै नेपाल पनि प्रभावित हुने एडिबीको अध्ययनले देखाएको हो ।

कारोनाको असर कस्तो हुन्छ भन्ने अहिल्यै भन्न नसकिने भएकाले त्यसको असरबारे पनि एडिबीले विभिन्न आकलन गरेको छ । कोरोना भाइरसको प्रभाव खराब हुँदा नेपालको कुल गार्हस्थ उत्पादनको ० दशमलव १३ प्रतिशत अर्थात् तीन करोड ३० लाख अमेरिकी डलर क्षति हुने विश्लेषण एडिबीले गरेको हो । नेपालमा सबैभन्दा बढी पर्यटन क्षेत्र प्रभावित हुने छ ।

पर्यटन क्षेत्रमा कुल गार्हस्थ उत्पादनको १ दशमलव ७५ प्रतिशत क्षति हुने आकलन गरिएको छ । कोरोनाको प्रभाव मध्यमस्तरमा मात्रै भयो भने कुल गार्हस्थ उत्पादनको ० दशमलव ०८ प्रतिशत क्षति हुने अनुमान पनि एडिबीको छ । यो समाचार आजको नयाँ पत्रीका दैनीकमा जनार्दन बरालले लेख्नुभएको छ ।

प्रकोप अनियन्त्रित भयो भने अर्थतन्त्रमा ठूलो क्षति पुग्ने विश्लेषण छ । यो सम्भावना मात्रै भएकाले एसियाली मुलुकहरूलाई सचेत बनाउन मात्रै यस्तो आकलन गरेको एडिबीको भनाइ छ । त्यस्तो अवस्थामा भने कुल गार्हस्थ उत्पादनको १ दशमलव ११ प्रतिशत अर्थात् ३७ अर्ब रुपैयाँ क्षति हुने आकलन पनि एडिबीले गरेको छ । पर्यटन, ट्रान्सपोर्ट र कृषि तथा खनिज क्षेत्र बढी प्रभावित हुने उसको आकलन छ । त्यस्तो अवस्थामा होटेल, रेस्टुरेन्ट क्षेत्रमा जिडिपीको २ दशमलव ५४ प्रतिशत, ट्रान्सपोर्ट क्षेत्र १ दशमलव ३३ प्रतिशत, कृषि तथा खनिज क्षेत्रमा १ दशमलव २२ प्रतिशत कमी हुने अनुमान एडिबीको छ ।

कोरोनाले विश्वको कुल गार्हस्थ उत्पादनमा ७७ अर्बदेखि ३ खर्ब ४७ अर्ब डलरसम्म क्षति हुने अनुमान एसियाली विकास बैंकले गरेको छ । यो विश्व अर्थतन्त्रको ० दशमलव १ देखि ० दशमलव ४ प्रतिशतसम्म हो । कोरोनाको प्रभाव सबैभन्दा नराम्रो भएको अवस्थामा क्षति ३ खर्ब ४७ अर्ब डलर पुग्नेछ । यसको प्रभाव औसत रह्यो भने अर्थात् कोरोनाको सघन संक्रमण देखिएको (जनवरीको अन्त्यतिर) ३ महिनाभित्र यात्रा प्रतिबन्ध फुकुवा हुन थाल्यो भने पनि विश्व अर्थतन्त्रमा एक खर्ब ५६ अर्ब क्षति हुने अनुमान एडिबीको छ । जुन ० दशमलव २ प्रतिशत हो ।

त्यसमध्ये चीनमा मात्रै एक खर्ब तीन अर्ब डलरको क्षति हुने एडिबीको आकलन छ । जुन चीनको जिडिपीको ० दशमलव ८ प्रतिशत हो । अवस्था खराब हुँदा चीनमा मात्रै दुई खर्ब ३७ अर्ब डलरको क्षति हुनेछ । अन्य विकासशील एसियाली मुलुकमा २२ अर्ब डलर क्षति हुने अनुमान छ ।


प्रकाशित | २४ फाल्गुन २०७६, शनिबार १३:५२