मध्यपूर्वमा अप्ठ्यारोमा परेका ४० हजार नेपालीको नामावली संकलन, स्वदेश फर्काउने तयारी तीब्र: कुमार पन्त

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) अध्यक्ष कुमार पन्तले विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउने तयारी तीब्र रुपमा भइरहेको बताउनुभएको छ ।

अध्यक्ष पन्तका अनुसार वैदेशिक रोजगारी र अध्ययनका सिलसिलामा विदेशमा आपतमा परेका नेपालीलाई स्वदेश फर्काउने तयारी तीब्र रूपमा अघि बढेको हो ।

अध्यक्ष पन्तका अनुसार मध्यपूर्वबाट मात्रै झण्डै ४० हजारको नामावली संकलन भएको छ । युएईमा १८ हजार, कतारमा ८ हजार ४ सय, मलेसियामा ६ हजार २ सय, साउदी अरेबियामा ६ हजार ५ सय, बहराइनमा ३ सय र ओमनमा ७ सयजनाको प्रारम्भिक सूची बनेको छ ।

अध्यक्ष पन्तले नेपाल सरकारले भोलि शुक्रबारदेखि उद्धार गर्न लागेको जानकारी गराउँदै पहिलोपटक बर्माबाट २६ जना काठमाडौं उड्ने बताउनुभयो ।

‘त्यहाँबाट ३१ जनाको सूची बने पनि ५ जना स्वास्थ्य प्रमाण पत्र बनाउन नभ्याउनुभएकाले छुट्नुभएको छ’ , अध्यक्ष पन्तले भन्नुभयो, ‘यसैगरी अर्को हप्ताबाट मध्यपूर्व र अन्य क्षेत्रबाट हुनेछ । त्यसैले जो जहाँ हुनुहुन्छ, धैर्य गरिदिन र एकअर्कालाई सक्दो सहयोग पुर्‍याउन हार्दिक अनुरोध गर्दछु ।’

नेपाल सरकारले गैर आवासीय नेपाली संघको सहयोगमा विदेशमा रहेका नेपालीको उद्धार गर्न लागेको हो । यससम्बन्धी अन्तिम निर्णय नेपाल सरकार, मन्त्रिपरिषदले गर्दैछ । युएईबाट शुक्रबार नै पहिलो खेपको उडान हुनेछ ।


प्रकाशित | २२ जेष्ठ २०७७, बिहीबार १७:५६