युक्रेनमा शरणार्थीको सङ्ख्या बीस लाख पुग्यो

युक्रेनमा जारी युद्धबाट शरणार्थी बन्नेको संख्या बीस लाख पुगेको छ । शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालयका प्रमुख फिलिपो ग्राण्डीले सामाजिक सञ्जाल ट्विटरमार्फत् यस्तो जानकारी दिनुभएको हो ।

संयुक्त राष्ट्रसंघले युक्रेनमाथि रुसी आक्रमणबाट उत्पन्न मानवीय संकटलाई युरोपमा दोश्रो विश्वयुद्ध यताकै सबैभन्दा खराब शरणार्थी संकटको रुपमा व्याख्या गरेको छ ।

युक्रेनमा शरणार्थी बनाइएकामध्ये आधा पोल्याण्ड पुगेको युरो न्युजले जनाएको छ । अरु १ लाख रुस र ४५० जनाजति बेलारुस पुगेको जनाइएको छ ।

युक्रेनमा १३ दिन यता रुसी आक्रमण जारी छ । रुसले आक्रमण गरेको शुरुको एक सातामा १० लाख शरणार्थी युक्रेनबाट बाहिरिएका थिए । युद्ध जारी रहेकाले शरणार्थीहरुको सङ्ख्या अझ बढ्ने युएनएचसीआरको चिन्ता छ ।


प्रकाशित | २४ फाल्गुन २०७८, मंगलवार १७:१६