मुग्लिनको ‘आर्क ब्रिज’ जेठदेखि सञ्चालनमा आउने

मुग्लिन : चितवनको इच्छाकामना गाउँपालिकास्थित मुग्लिन र तनहुँको आँबुखैरेनी गाउँपालिकाको बेनीटार जोड्ने त्रिशूली नदीमा निर्माण भइरहेको मोटरेवल पुल ‘आर्क ब्रिज’ जेठबाट सञ्चालनमा आउने भएको छ । अहिलेसम्म ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको निर्माण कम्पनीले जनाएको छ ।

चीनमा पढेर आएका नेपाली इञ्जिनियरले डिजाइन गरेको यो दोस्रो आर्क ब्रिज हो । पहिलो चोभारमा परीक्षणका रूपमा निर्माण गरिएको छ । निर्माण कम्पनी इ–राइड एडभेञ्चर लोहनी जेभीका प्रबन्ध निर्देशक मोतीलाल शर्माका अनुसार रेलिङ, फुटपाथ र वायरिङको काम मात्र बाँकी छ । ‘९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको छ, अब बाँकी काम भनेको रेलिङ, फुटपाथ र वायरिङको मात्र रहेको छ, वैशाखभित्रै पुल निर्माण सम्पन्न गरी जिम्मा लगाउनेछौँ ।’ उहाँले भन्नुभयो । मुग्लिनको पुरानो पुल जीर्ण र कमजोर भएपछि विसं २०७१ बाट निर्माण शुरु गरिएको हो ।


प्रकाशित | ३ बैशाख २०७६, मंगलवार १०:५६