कुवेत : गैर आवासीय नेपाली संघ (एनआरएनए ) कुवेतले विश्व ब्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरसका कारण समस्यामा परेका नेपालीलाई विभिन्न ठाउँमा ६ वटा गोदाम बनाएर राहत वितरण अभियान थालेको छ । पहिलो चरणमा नेपालीहरुलाई सामाजीक सञ्जालदेखि स्थानीय मिडियामार्फत सचेतना जगाउने कार्य गर्दै आइरहेको एनआरएनए कुवेतले लकडाउन लम्बिदै जाँदा नेपालीहरु खानाको समस्यामा परेपछि राहत वितरण अभियान थालेको हो ।
एनआरएनए कुवेत अध्यक्ष सुजन केसीले कोही पनि नेपालीमा खाना नपाउने अवस्था नआओस भनेर खाद्य तथा अन्य अत्यावश्यक सामग्री जोहो गर्दै आवश्यक पर्ने नेपालीलाई वितरण कार्य शुरु गरिएको बताउनुभयो । अध्यक्ष केसीका अनुसार अत्यावश्यक सामानहरु (चामल, दाल, नुन, तेल ) फरक फरक ठाउँमा गोदाम बनाएर वितरण गर्ने कार्यको शूरुवात गरिएको हो ।
संघले विभिन्न दाता, एनआरएनए पदाधिकारीबाट सहयोग संकलन गरेर विगत तीन दिनदेखि राहत वितरण जारी राखेको छ । त्यस्तै, एनआरएनए कुवेतले नेपालीहरुको धेरै बाक्लो बस्ती रहेको ठाउँमा नेपालीहरुलाई खानाको समस्या परेको भन्ने जानकारी पाएसँगै पासको लागि स्थानीय प्रशासनसँग पहल गरिरहेको छ ।
कुवेत विगत १२ मार्चदेखि लगातार लकडाउनमा छ भने बेलुका ५ बजेदेखि बिहान ६ बजेसम्म कफ्यु जारी छ । जसको कारण पास बिना सो ठाउँमा पुग्न समस्या भएकाले राजदूतावाससँग समन्वय भइरहेको अध्यक्ष केसीले जानकारी गराउनुभयो । त्यस्तै, केसीले समस्यामा परेका नेपालीलाई सम्पर्क गर्न समेत आग्रह गर्नुभएको छ ।
अध्यक्ष केसीका अनुसारमा कोरोना संक्रमणको कारण कुवेतमा अहिलेसम्म ९ जना नेपाली संक्रमीत भएका छन् । आज थप ५ जनामा कोरोना संक्रमीत भएको पुष्टि भएको छ । यो सँगै नेपाली संक्रमीतको संख्या ९ पुगेको हो । यसअघि ४ जना संक्रमीत भइसकेका थिए । उनीहरु सबैको उपचार भइरहेको छ । प्राप्त जानकारीअनुसार अहिलेसम्म कसैको पनि चिन्ताजनक अवस्था छैन ।
प्रकाशित | २८ चैत्र २०७६, शुक्रबार १८:३६