नेपालमा कोरोना संक्रमीतहरु निको हुने क्रम बढ्दै, हालसम्म २ सय ७८ जना निको भए

काठमाडौं : नेपालमा कोरोना संक्रमीतहरु निको हुने क्रम पनि बढ्दै गएको छ । पछिल्लो अपडेट अनुसार नेपालमा ६ वर्षीया बालिकासहित थप १२ जनाले कोरोनालाई जितेका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार हालसम्म २२२ पुरुष र ५६ महिला गरी २७८ जनाले कोरोना संक्रमण जितेका हुन ।

बुधबार कपिलवस्तुकी ६ वर्षिय बालिका त्रिवि शिक्षण अस्पतालबाट १९औँ दिनमा निको भएर घर फर्किएकी छिन्। जनकपुर अस्पतालबाट पाँच जना डिस्चार्ज भएका छन्। २० वर्षिया महिलासहित १९ देखि ४० वर्षीय तीनजना पुरुषहरु ११ देखि १६ औँ दिनमा डिस्चार्ज भएका हुन्। उनीहरु धनुषा,महोत्तरी र सर्लाहीका हुन्।

रूपन्देहीको भैरहवास्थित भीम अस्पतालमा आईसोलेशनमा रहेका कोरोना भाइरस संक्रमित निको भएर डिस्चार्ज भएपछिको खुसीयाली । तस्विर- सी. पी. खनाल

टेकु अस्पतालबाट काठमाडौंका ६९ वर्षीय एक जना पुरुष डिस्चार्ज भएका छन्। उनी ९ दिनमा डिस्चार्ज भएका हुन्। बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालबाट रौतहट ३४ वर्षीय पुरुष डिस्चार्ज भएका छन्। उनी १५औँ दिनमा डिस्चार्ज भएका हुन्।

बुटबलबाट ४ जना डिस्चार्ज भएका छन्। उनीहरु अर्घाखाँची र कपिलवस्तुका पुरुषहरु हुन्। १८ देखि १४ वर्षका पुरुषहरु १० देखि २५ औँ दिनको अवधिमा संक्रमतलाई जितेर घर फर्किएका हुन्।

यसरी हालसम्म प्रदेश १ मा ४८, प्रदेश २ मा १०९, बागमती प्रदेशमा ३१ र गण्डकी प्रदेशमा ३ जनाले कोरोना संक्रमण जितेका छन्। त्यसैगरी, प्रदेश ५ मा ८० र सुदुरपश्चिम प्रदेशमा ७ जनाले कोरोना संक्रमण जितेका छन्।


प्रकाशित | २१ जेष्ठ २०७७, बुधबार १७:५९