विदेशमा रोकिएका १ सय ५२ जनाको शव ल्याउने तयारी

काठमाडौं : सरकारले खाडीका ६ सहित मलेसिया र कोरियामा रोकिएका २२७ जनाको शव ल्याउने तयारी थालेको छ । कोभिड १९ का कारण अन्तर्राष्ट्रिय उडान बन्द भएका बेला विदेशमा रोकिएका शव ल्याउने तयारी थालेको हो ।

सरकारले विदेशमा समस्यामा परेका नेपाली श्रमिकलाई ल्याउन चार्टर्ड उडान गरेका बेला विभिन्न देशमा रोकिएका शव पनि ल्याउने निर्णय गरेको हो ।

शव ल्याउन लाग्ने खर्च सम्बन्धित रोजगारदाताले बेर्होनुपर्ने छ तर विशेष परिस्थितिमा शव ल्याउँदा लाग्ने खर्च वैदेशिक रोजगार कल्याणकारी कोषबाट खर्च गर्न सकिने उल्लेख छ ।

कोभिड १९ का कारण उत्पन्न असहज परिस्थितिमा नेपाल ल्याउनैपर्ने अवस्थामा रहेका नेपालीलाई स्वदेश आउन सहजीकरण गर्ने नीतिअनुरूप जहाज चार्टर्ड भएका बेला अलपत्र शव पनि ल्याउने व्यवस्था परराष्ट्र मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मिलाउनुपर्ने उल्लेख छ ।

वैदेशिक रोजगार बोर्डका अनुसार लकडाउनको अवधिमा कोरोनासहित अन्य कारणले खाडीका छ एवं मलेसिया, दक्षिण कोरियालगायतका देशमा कार्यरत २२७ जना नेपालीको ज्यान गएको छ । गत शुक्रबारसम्मको अवधिमा सबैभन्दा धेरै साउदीमा ५८ जना नेपालीले ज्यान गुमाएका छन् । जसमध्ये चार जनाको कोरोनाको कारण ज्यान गएको हो भने बाँकीको अन्य कारणले ज्यान गएको बोर्डले जनाएको छ ।

साउदीमा ज्यान गुमाउने ११ जनाका परिवारले उतै अन्त्येष्टिका लागि अनुमति दिएका छन् भने बाँकी ४७ वटा शव साउदीमै रोकिएका छन् ।

दक्षिण कोरियामा यो अवधिमा ज्यान गुमाउने चारै जनाको शव उतै अन्त्येष्टिका लागि अनुमति आएको बोर्डले जनाएको छ । यो अवधिमा ओमानमा एक र अन्य विभिन्न देशमा ११ जनाको ज्यान गएको छ । विभिन्न देशमा ज्यान गुमाउने ११ जनामध्ये आठ जनाका परिवारले गन्तव्य देशमै अन्त्येष्टिका लागि अनुमति दिएका छन् ।

त्यसैगरी, संयुक्त अरब इमिरेट्स (यूएई) मा यो अवधिमा ४८ जनाको ज्यान कोरोनासहित विभिन्न कारणले गएको छ । जसमध्ये ३६ जनाको परिवारले उतै अन्त्येष्टिका लागि अनुमति दिएका छन् भने बाँकी यूएईमा १२ वटा शव व्यवस्थापन गर्नुपर्ने छ । यूएईमा ज्यान गुमाउनेमध्ये नौ जनाको कोरोनाको कारण ज्यान गएको बोर्डले जनाएको छ ।

यस्तै यस अवधिमा मलेसियमा ५१ जना नेपालीले विभिन्न कारणले ज्यान गुमाएकामा चार जनाका परिवारले उतै अन्त्येष्टिका लागि अनुमति दिएका छन् भने ४८ वटा शव मलेसियामै रोकिएको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार यस अवधिमा कतारमा ३७ जनाले ज्यान गुमाएका छन् । जसमध्ये १० जनाका परिवारले उतै अन्त्येष्टिका लागि अनुमति दिएका छन् भने कतारमा अब २७ वटा शव बाँकी छन् । जसमध्ये कतारमा चार जना नेपालीको कोरोनाको कारण ज्यान गएको छ ।

बोर्डका अनुसार यस अवधिमा कुवेतमा ज्यान गुमाएका ११ जनाको शव व्यवस्थापन गर्नुपर्ने छ । बहराइनमा यो अवधिमा पाँच जनाको ज्यान गएको छ जसमध्ये दुई जनाका परिवारले उतै अन्त्येष्टिका लागि अनुमति दिएका छन् भने अब तीनवटा शव ल्याउन बाँकी छन् ।

कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा लामो समयसम्म शव नआएपछि ७५ मृतकका परिवारले उतै अन्त्येष्टिका लागि अनुमति दिएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

अन्तर्राष्ट्रिय उडान नखुल्दासम्म शव ल्याउन नसकिने भन्दै बोर्डले गन्तव्य देशमै शव व्यवस्थापनका लागि अनुमति दिन अनुरोध गरिरहेको छ । लकडाउनको अवधिमा गन्तव्य देशमै अन्त्येष्टिका लागि अनुमति दिने परिवारलाई सान्त्वना राहत स्वरुप ५० हजार रुपैयाँ दिने निर्णय पनि सरकारले गरेको छ । गएको शुक्रबारसम्म ७५ परिवारले अन्त्येष्टिको लागि अनुमति दिएका छन् भने १ सय ५२ शव विभिन्न देशमा अलपत्र अवस्थामा छन्।

देशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले सरकारले विमानस्थलमा ल्याएका शव मृतकको घर घरसम्म पुर्‍याउन बोर्ड तयार रहेको पनि जानकारी गराउनुभयो । एक दिनमा २० वटासम्म शव विमानस्थलबाट घरसम्म पुर्‍याउन सक्ने गरी बोर्डले तयारी थालेको श्रेष्ठको भनाइ छ ।

श्रेष्ठका अनुसार बोर्डले शव वाहन, चालक र विमानस्थलबाट लैजान त्यही अनुसारको तयारी गरिसकेको छ । परिवारका सदस्य र आफन्त काठमाण्डौ आउन नसक्दा लोकेशन दिए घरसम्म शव पुर्‍याइदिने तयारी पनि गरिरहेका छौ ।

अहिले कोरोनाको कारण मृतकका आफन्त शव बुझ्न काठमाण्डौ आउन सक्ने अवस्था नरहेमा परिवारसँग समन्वय गरेर विमानस्थलबाट घरसम्म शव पुर्‍याउन बोर्डले समन्वय गर्नेछ । तर शव कसरी आउँछन्, कति आउँछन् भन्नेबारे अहिले नै भन्न नसकिने उहाँको भनाई छ ।


प्रकाशित | २१ जेष्ठ २०७७, बुधबार ०८:१३