युक्रेनमाथिको सबै सैन्य कारबाही तत्काल रोक्न जर्मन चान्सलरको पुटिनलाई आग्रह

बर्लीन – जर्मन चान्सलर ओलाफ स्कोल्जले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोन गर्दै युक्रेनमाथिको सबै सैन्य कारबाही तत्काल रोक्न आग्रह गरेका छन् ।

जर्मन सरकारका प्रवक्ता स्टेफेन हेबेस्ट्रेटले पुटिनलाई युद्ध भइरहेको क्षेत्रमा मानवीय सहायताको पहुँचको लागि अनुमति दिन स्कोल्जले आग्रह गरेको बताए ।

पुटिनले चान्सलरलाई रुस र युक्रेनबीचको तेस्रो चरणको वार्ता यसै साताको अन्त्यमा हुने जानकारी दिएको जर्मनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

एक घण्टा लामो कुराकानीमा छिट्टै थप वार्ता  गर्न सहमत भएको जनाइएको छ ।

त्यस्तै, जर्मन विदेशमन्त्री एनालेना बेरबकले पनि पुटिनलाई युक्रेनमा भएको युद्ध तत्काल अन्त्य गर्न अपिल गरेकी छन् ।

‘रुसी राष्ट्रपतिले अन्तर्राष्ट्रिय रूपमा आफ्नो देशलाई पूर्ण रूपमा अलग गरिसकेका छन्’, बेरबकले ब्रसेल्समा विदेश मन्त्रीहरूसँग परामर्श गर्नु अघि भनीन।

यसैबीच, युक्रेनबाट जर्मनी आउने शरणार्थीहरूको संख्या एकै दिनमा दोब्बर भएको आधिकारिक तथ्यांकले देखाएको छ।

संघीय प्रहरीले शुक्रबार मध्याह्नसम्म १८,४३६ शरणार्थी दर्ता गरेको बर्लिनको आन्तरिक मन्त्रालयले जनाएको छ ।


प्रकाशित | २० फाल्गुन २०७८, शुक्रबार २१:२६