दुई वर्षीया बालिकाको कोरोना भाइरसका कारण मृत्यु, मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो

काठमाडौं : बाजुराकी दुई वर्षीया बालिकाको कोरोना भाइरस सङ्क्रमणले मृत्यु भएको पुष्टि भएको छ । मृतक स्थानीय क्वारेन्टाइनमा बसेकी थिइन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित बिफ्रिङमा बाजुराकी दुई वर्षिया बालिकाको आइतबार बिहान २ : ३० बजे मृत्यु भएको जानकारी दिनुभयो । उनको पिसिआर परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

ती बालिकालाई ज्वरो, श्वासप्रस्वासको समस्या र पखला देखिएपछि बाजुरा अस्पतालमा भर्ना गरिएको थियो। बुढीगङ्गा नगरपालिका–१ घर भएकी उनी आमाबुबासँगै आठ दिनअघि भारतबाट नेपाल प्रवेश गरेकी थिइन् ।

त्यस्तै, शनिबार दैलेख दुल्लु नगरपालिकाका ३५ वर्षीय पुरुषको पनि मृत्यु भएको थियो।  यो सँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ । नेपालमा हालसम्म १ हजार ५ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। संक्रमण देखिएकामध्ये २२० जना उपचारपछि निको भएका छन्।


प्रकाशित | १८ जेष्ठ २०७७, आईतवार १६:५०