नेपालमा थप १३ जनाले जिते कोरोना, डिस्चार्ज हुनेको संख्या २ सय १९ पुग्यो

काठमाडौं : नेपालमा कोरोना संक्रमीतहरु धमाधम निको हुने क्रम बढ्दै गएको छ । शनिबार मात्र थप १३ जनाले कोरोना भाइरसको संक्रमणलाई जितेर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार शनिबार काठमाडौंको टेकु अस्पतालबाट २ जना र बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालबाट ११ जना डिस्चार्ज भएका हुन् । कोरोनाको संक्रमणलाई पराजित गर्नेमा ७ वर्षीय बालकदेखि ४२ वर्षीय पुरुषसम्म छन् ।

टेकु अस्पतालबाट काठमाडौंको बूढानीलकण्ठका ३८ वर्षीय पुरुष र टोखा ७ का ४० वर्षीय पुरुष डिस्चार्ज भएका हुन् । उनीहरू अस्पताल भर्ना भएको ५ दिनमा कोरोनालाई जितेर घर फर्किएका हुन् ।

त्यसैगरी कोभिड १९ युनिफाइड अस्पताल बलम्बुबाट देशका विभिन्न जिल्ला स्थायी बसोबास भइ काठमाडौंमा बस्दै आएका ७ देखि ४२ वर्ष उमेरका ९ जना डिस्चार्ज भएका छन् ।  उनीहरूमध्ये ६ जना पुरुष र ३ जना महिला रहेका छन् । उनीहरू १० देखि १५ दिनसम्मको अस्पताल बसाइँपछि डिस्चार्ज भएका हुन् ।

सोही अस्पतालबाट अछाम घर भई बाँकेको कोहलपुरमा रहेका १ जना ३२ वर्षीय पुरुष पनि १६औँ दिनमा डिस्चार्ज भएका छन् । रुकुम घर भई ललितपुरमा बस्ने १ जना २६ वर्षीय पुरुष ११औँ दिनमा डिस्चार्ज भएका छन् ।

नेपालमा कोरोनालाई जितेर घर फर्किनेको संख्या २ सय १९ पुगेको छ । जसअध्ये १ सय ७२ जना पुरुष रहेका छन् भने ४७ जना महिला रहेका छन् ।


प्रकाशित | १७ जेष्ठ २०७७, शनिबार १९:५३