तनावपूर्ण खेलमा चेल्सी र टोटेनहमको रोमान्चक बराबरी

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको लन्डन खेलमा चेल्सी र टोटेनहम हट्सपरले २-२ को रोमान्चक बराबरी खेलेका छन् । घरेलु टोली चेल्सीले दुई पटक अग्रता लिएपनि खेल जित्न सकेन ।

स्टामफर्ड ब्रिजमा भएको खेलको १९औं मिनेटमा कौलिबालीले सुन्दर गोल गर्दै घरेलु टोलीलाई अघि बढाए । उनले मार्क कुकुरेलाको कर्नरलाई पेनाल्टी क्षेत्र भित्रबाट सिधै भलीमा गोल गरेका थिए । चेल्सीले पहिलो हाफमा थप अवसर सिर्जना भएपनि गोल थप्न भने सकेन ।

दोस्रो हाफको ६८ औं मिनेटमा स्पर्स होएबिएरको गोलसँगै खेलमा फर्कियो । कप्तान जर्जिन्होले पेनाल्टी क्षेत्र भित्रबाट बल फुस्काएपछि बेन डेभिसको पासमा होएबिएरले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोलरक्षक एडुआर्ड मेन्डीले जोगाउन सकेनन् । उक्त गोलपछि दुवै टोलीका प्रशिक्षकबीच टेक्निकल बक्समा भनाभन हुँदा तनावको स्थिति सिर्जना भएको थियो । रेफ्रीले दुवैलाई पहेंलो कार्ड पनि देखाए ।

७७ औं मिनेटमा चेल्सीले जेम्सको गोलमा अग्रता लियो । रहिम स्टर्लिङको पासमा जेम्सले पेनाल्टी क्षेत्र भित्रबाट शक्तिशाली प्रहारमा गोल गरे । चेल्सी जितनजिक पुगेको अवस्थामा इन्ज्युरी समयको अन्तिम मिनेटमा गोल गर्दै केनले स्पर्सलाई अंक दिलाए । इभान पेरिसिचको कर्नरमा केनको हेडर गोल भएको थियो ।

खेल सकिएपछि हात मिलाउने क्रममा दुई प्रशिक्षकबीच पुनस् भनाभन हुँदा मैदानमा तनावपूर्ण स्थिति बनेको थियो । दुवै टोलीका खेलाडी र अफिसियल समेत भनाभनमा जोडीन पुगे । रेफ्रीले अन्त्यमा दुवै प्रशिक्षकलाई रातो कार्ड देखाए ।


प्रकाशित | २९ श्रावण २०७९, आईतवार २३:५१