एनआरएनए फ्रान्स र म

राजु खप्तडी बस्नेत

दुई बर्ष भन्दा बढी बिदेसमा (सार्क मुलुक बाहेक) बसोबास गर्ने नेपाली नागरिकता र राहदानी भएको नेपाली नागरिकलाई गैरआवासीय नेपाली भनिन्छ ।जस्ले आय कर बिदेसमा नै तिर्छ।त्यो व्यक्ति जोसंग नेपाली नागरिकता छ या एक समय उसले वंशजको अथवा जन्मको आधारमा नेपाली नागरिकता लिएको थियो, हाल विदेशी नागरिकता लिइसकेको छ अथवा जसका तिन पुस्तामा कोही जो नेपाली थिए भनेर देखाउन सक्ने आधार भएको प्रमाणिक व्यक्तिलाई नै गैर आवासीय नेपाली भनेर बुझिन्छ। यसमा दुई बर्ष भन्दा बढी विदेशमा बसेता पनि विद्यार्थीहरु र कुटनीतिक नियोगका कर्मचारीलाई गैर आवासीय नेपाली भनिदैन।

यसरी गैर आवासीय नेपालीहरुको हित.,अधिकार, सहयोगका साथै मुल देशसंग संबन्ध स्थापना गर्न समन्वयात्मक भूमिका र अधिकार सहित खोलिएको नेपाल सरकारद्वारा मान्यता प्राप्त गैर सरकारी र गैर नाफामुलक संस्था नै गैर आवासीय नेपाली संघ हो। नेपाली पुगेका विश्वका विभिन्न मुलुकहरुमा यसका राष्ट्रिय समन्वय परिषदहरु छन। तिनै राष्ट्रिय समन्वय परिषदहरु मध्ये फ्रान्सको लागि गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्स एक हो। स्थापना काल देखि नै गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्सले फ्रान्समा भएका नेपालीहरुलाई जोड्ने ,सहयोग गर्ने,उद्धार गर्ने आदि कार्यहरु गर्दै आएको छ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्सले विभिन्न समयमा नेपालीहरुको कागजी समस्यालाई संबोधन गर्न वकिल राखेर छलफल चलाउने र सही दिशा निर्देश गर्ने अर्थात् सुचना तथा जानकारी दिने काम पनि गरेको छ। नेपाली डायस्पोरामा मार्च ८ लाई अन्तर्राष्ट्रिय महिला दिवस मनाउने प्रचलनको ऐतिहासिक शुभारम्भ पनि गैर आवासीय नेपाली संघ फ्रान्सबाट नै भएको हो।

नेपाली चाडपर्व, संस्कृति र अन्य राष्ट्रिय महत्वका दिवस उत्सवहरुको संरक्षण र सम्बर्द्धन गर्न लागि एनआरएनए फ्रान्सले दसैं, देउसी भैलो, नयाँ बर्ष जस्ता कार्यक्रमहरु सबैलाई समेटेर गर्दै आइरहेको छ। त्यस्तै चिनजान र भाइचाराको विकासको लागि समुद्र भ्रमण कार्यक्रम, एनआरएनए फुटबल प्रतियोगिता जस्ता कार्यक्रमहरु पनि गर्दै आइरहेको छ। आपतकालीन कोष खडा गरेर फ्रान्स स्थित नेपालीहरुलाई आपत या मर्दा पर्दा पनि लास नेपाल पठाउन नेपाली राजदुताबाससंग सहकार्य गर्दै आर्थिक सहयोग र अन्य प्रशासनिक कार्यमा समन्वयात्मक भूमिका निर्वाह गर्दै आइरहेको छ। नेपालको राष्ट्रियता र स्वाधीनता माथि विदेसी प्रहार हुन खोज्दा पनि हामीले अग्र पङ्क्तिमा रहेर अन्तराष्ट्रिय स्तरमा त्यस्ता कार्यहरुको सम्बन्धीत देसको कुटनीतिक नियोगको ध्यान आकर्षण हुने गरी बिरोध र घोर भर्त्सना गरेका छौँ।

बुद्धको जन्मस्थल नेपालको प्रचारप्रसारको लागि पनि हरेक बर्ष हामीले पेरिसको प्रमुख पर्यटकिय स्थल टोकारडो अगाडि गएर विशेष संयुक्त कार्यक्रम सहित नेपाल चिनाउने, प्रवर्द्धन गर्ने र शान्ति, प्रेम ,सहिष्णुता अनि बुद्धका सन्देशहरु बाँड्ने काम गरिरहेका छौं। नेपालमा विभिन्न प्राकृतिक संकट आइपर्दा एनआरएनए फ्रान्सले चन्दा संकलन गरेर आर्थिक सहयोग, राहत सामाग्रीहरु सहयोग पनि गरि आएको छ। राष्ट्रिय र अन्तर्राष्ट्रिय समन्वय परिषदहरु मार्फत गैर आवासीय नेपालीको हक अधिकारको लागि नेपाल सरकारसंग वकालत, बहस , छलफल, सुझाव र दवाव दिने कार्यहरु पनि निरन्तर रुपमा गर्दै आईरहेको छ।

हाल वर्तमान एनआरएनए फ्रान्सले फ्रान्समा नेपाली घर निर्माणका लागि कार्यक्रम अघि बढाइरहेको छ। फ्रान्स एउटा उन्नत समाज भएको बिकशित मुलुक हो। आजको यस भूमण्डलीकरणको युगमा विभिन्न कारणले नेपालीहरुको बसोबास यस मुलुकमा बिस्तारै बिस्तारै बढ्दै गइरहेको छ।विगत तीस बर्ष देखि नेपालीहरु यहाँ बस्न थालेको तथ्यांक हामीले पाएका छौं। हाल आएर फ्रान्स बासी नेपालीहरुको दोस्रो पुस्ता पनि निकै झाङ्गिएर गएको छ। फ्रान्स पढ्न आउँने बिध्यार्थीहरुको सङ्ख्या पनि बढ्दो छ। त्यसै गरि फ्रान्सको बिदेसी सेना (Légion Etrangère ) मा पनि लगभग परिवार सहित १००० भन्दा बढी सङ्ख्या पुगेको जानकारी छ। पछिल्लो अनुमानित तथ्याङ्कलाई हेर्दा पारिवारिक,व्यवसायिक र अन्य रुपमा पनि यहाँ आउने नेपालीहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ। यही कुरालाई मध्यनजर गरि वर्तमान कार्यसमितिले पनि आफ्नो कार्यकालको प्रमुख एजेन्डाको रुपमा यसलाई राखेको छ। नेपालीहरुको विहे व्रतबन्ध, पास्नी लगायत विभिन्न संघसंस्थाहरुले गर्ने कार्यक्रमहरु गर्नको साथै र मर्दा पनि नेपालीहरु एउटै छानोमा एकत्रित हुन काम लाग्ने घरको रुपमा सबैको साझा नेपाली घरको अभियानमा सबैलाई जोड्ने भुमिका रहेको हुँदा फ्रान्स बासी नेपाली दाजुभाई दिदीबहिनीहरुमा हाम्रो आफ्नै मौलिक नेपाली घर निर्माणका लागि सहयोग गर्न हार्दिक अनुरोध पनि गर्दछु।

वर्तमान अवस्थामा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्सले कोभिड १९ अर्थात कोरोना महामारीको कारणले उत्पन्न असामान्य परिस्थितिमा समस्यामा परेका फ्रान्स स्थित नेपालीहरुलाई पहिलो चरणको रुपमा खाध्यान्न राहत प्याकेज वितरण गरेको थियो । विश्व व्यापी महामारीको रुपमा फैलिरहेको यस कोभिड १९ को चरम प्रभाव र संवेदनशील अवस्थामा एनआरएनएले सबैभन्दा पहिला र अग्र पङ्क्तिमा रहेर द्रुत गतिमा राहत वितरण कार्यलाई सम्पन्न गरेको थियो।

यसरी एकातिर कोभिड १९ बाट बच्ने र बचाउने सावधानी र सरकारी अनुशासन र नियमन थियो भने अर्को तिर राहत वितरणलाई छिटो छरितो रुपमा पुर्याउनु पर्ने परिस्थितिको बाबजुद संक्रमणले फ्रान्समा आफ्नो भयङ्कर उच्चाइ छोइरहेको अवस्थामा एनआरएनए फ्रान्सले युद्धस्तरमा खटेर जोखिम लिदै राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ। कतिपयलाई अनुकूलता हेरी राहत वितरण केन्द्रमा नै बोलाइएको थियो भने कतिपयलाई राहत वितरण उपसमिती भित्रका सम्पर्क व्यक्तिहरुले घरघरमै राहत पुर्याउने काम गरेका थिए ।

एनआरएनए फ्रान्सले २५ मार्च देखि राहत वितरण सुरु गरेको थियो। यस खाध्यान्न राहत प्याकेजबाट कागजी प्रक्रियामा रहनु भएका कारणले काम नभएका या काम छुटेका नेपालीहरु लगायत विध्यार्थी भाइबहिनीहरू लाभान्वित हुनुभएको छ।

यस संगै प्रथम चरणको राहत वितरण कार्यक्रमलाई सम्पन्न गरी थपिन गएको सुरक्षा चुनौती, फ्रान्स सरकारले लगाएको दोस्रो चरणको लकडाउनको थप अवधी, नियम, अनुशासनको परिबन्द र परिस्थितिको संवेदनशीलतालाई मनन गरि यस राहत कार्यक्रमलाई अझ सुरक्षित र व्यापक रुपमा लैजाने प्रयास अनुरुप सबैको सामुहिक सहकार्यमा फ्रान्समा भएका संघसंस्थाहरु मिलेर कोभिड १९ संयुक्त सहयोग समिति, फ्रान्स गठन गरिएको थियो। यसमा नेपाली राजदुताबास फ्रान्स संरक्षक र अन्य संस्थाहरु संयुक्त सहयोग समिती फ्रान्सका सदस्य हुने गरि संगठीत भएर राहत सम्बन्धि कामकारवाहीलाई अघि बढाइएको थियो। संघसंस्थाहरुमा एनआरएनए फ्रान्स, प्रवासी नेपाली एकता मंच फ्रान्स, तमु समाज फ्रान्स, नेपाली जनसम्पर्क समिति फ्रान्स, नेपाली संस्कृतिक गृह, इनास फ्रान्स, पाकोफेन नेपाल, म्याग्दी समाज, मोना फ्रान्स, तामाग घेदुङ्ग फ्रान्स, नेपाली रक्तदाता संघ फ्रान्स, गोर्खा बोइज फ्रान्स, एभेरेष्ट नेपाल एसोसिएसन गरी १२ वटा संस्थाहरु एकत्रित भएर लागी परेका थिए। फ्रान्स सरकारले बन्दाबन्दीको समयावधि बढाएसंगै दैनिक जनजीवनमा समस्याहरु पनि थपिदै गइरहेको असहज परिस्थितिलाई मध्यनजर गर्दै, यस प्रक्रियामा संयुक्त रुपमा हातेमालो गर्ने संस्थाहरुको प्रयासबाट लगभग १०,०००€ दश हजार युरोको कोष खडा भएको थियो। यस विषम परिस्थितिमा फ्रान्समा रहनुहुने नेपाली बिद्यार्थीहरु, साथै आफ्नो कागजी प्रक्रियामा रहनुभएका काम नहुने र सरकारी सहयोग नपाउने नेपालीहरुले आर्थिक राहत लिनु भएको थियो।

विविध सामाजिक मनोविज्ञानको फरक फरक आनुपातिक मिश्रणमा सामाजिक संस्थाको निर्णयले सबैको चित्त बुझाउन गार्हो देखिन्छ। यो समस्या हामी जस्तो तेस्रो मुलुकको समाज र सन्दर्भमा मात्र नभई उन्नत मुलुकको हकमा पनि व्याप्त देखिन्छ। विज्ञानमा पनि एउटा निश्चित दुरी भनौं या आयाम पश्चात भौतिक विज्ञानका नियमहरु र सुत्रहरूले काम गर्न छोड्छन। त्यसैगरी समाज शास्त्रीय धरातलहरु पनि अन्य कुरा यथावत रहेमा अर्थात सर्तहरु मा सिद्धान्तहरुमा बाधिएका हुन्छन। अब ब्यवहारीक पक्षको कुरा गर्दा त झन यो अनेकन मानवीय इच्छा आवश्यकताहरु,सिमित श्रोत र विकल्पहरु संग गासिएको हुन्छ। यही सन्दर्भमा हामीले गरेका निस्वार्थ मानवीय कार्यहरु कतीलाई चित्त बुझ्यो कतिलाई चित्त बुझेन त्यो आफ्नै ठाउँमा छ तर चित्त नबुझेका कुराहरुलाई औपचारिक रुपमा सौहद्रता नबिग्रिने गरि राख्दा धेरै राम्रो हुन्छ।

एनआरएनए फ्रान्स सबैको पहुँच भएको संस्था हो। सामाजीक सञ्जालमा गएर संस्थालाई बदनाम गर्छु भन्ने हेतुले भन्दा पनि गुनासो के हो ? या सुझाब के हो ? त्यो प्रष्टसंग एनआरएनएको इमेल या म्यासेन्जरमा पठाउँदा अति उत्तम हुन्छ। यसरी पनि सुनवाई नभए अन्य हत्कण्डा अपनाउँदा निजको व्यक्तिगत हैसियतले ठिकै होला। एनआरएनएको मञ्च कुनै पनि व्यक्तिको बदनाम गर्ने माध्यम बन्नु हुदैन।

एनआरएनए फ्रान्स सबै फ्रान्स स्थित संपुर्ण नेपालीहरुको साझा संस्था हो। यसलाई आदर्श संस्था बनाउने दायित्व पनि हाम्रो नै हो। रत्नाकरहरु पनि बाल्मीकी भएका छन, मुर्खहरू पनि कालीदास भएका उदाहरणहरु हामीसंग प्रशस्त छन। सबैलाई समय दिनु पर्छ र सामाजिक अवसर दिनुपर्छ भन्ने मेरो मान्यता छ। जुन कुरा अरुले आफुलाई भन्दा मन पर्दैन त्यसता कुरा आफुले पनि अरुलाई भन्नु हुदैन। यही नै हो तेस्रो आँखा र समय समयमा यसको प्रयोगले समाजीक मर्म बुझ्न मद्दत पुग्ने गर्छ।

यसैसंग जोडेर संस्थागत काम कुरा गर्दै जाँदा मैले के पनि देखेको छु भन्दा कतिपय व्यक्तिहरू यताको उछितो काडेर उता र उताको उछितो काडेर यता गरेर सामाजिक जीवीका चलाइरहेका छन। त्यसैगरि, कतिपय स्वार्थको लागि नजिक हुने अनि स्वार्थ पुरा भएपछि या नहुने देखेपछि टाढा हुने यस्ता व्यक्तित्वहरुको पनि कमी छैन। त्यसैले यस्ता कुराहरुलाई घटाएर सामाजिक हित र सामाजिक स्वार्थलाई प्राथमिकतामा राखेर अघि बढौं। को अघि आयो, को पछि आयो ? कसका दारी या कपाल पहिला फुल्यो ? को कुन कागजी पहिचानको हो भनेर छुट्याउनु भन्दा सबै नेपाली हौं भन्ने भावना अग्रस्थानमा हुनुपर्छ।

अहिले विभिन्न सञ्चार माध्यमहरुमा आइरहेको भ्रमलाई चिर्ने जमर्को गर्न चाहन्छु। देशमा पूर्व एमाले र पूर्व माओवादी बीच राजनैतिक एकता भए संगै प्रवासमा रहेका भातृ संगठनहरु बीच पनि एकताको माहोल बन्यो। फ्रान्समा पनि सेप्टेम्बर ३० ,२०१८ मा तत्कालीन प्रवासी नेपाली मञ्च र जनप्रगतिशिल मञ्च बीच एकता भइ प्रवासी नेपाली एकता मञ्च गठन भएको हो। त्यही बेला हामीले हाम्रो नयाँ भक्त बहादुर वाग्ले ज्यु संयोजक र सुमन पौडेल सचिव हुने गरी नामावली पठाएका थियौं। नेकपामा तत्कालीन अवस्थामा प्रवासमा प्रवासी कमिटी बनाउने की नबनाउने भन्ने अनिश्चितता थियो र यो कुरा यत्तिकै रहिरह्यो। यही बीचमा २०१९ को अगस्टमा यहाँ एनआरएनएको चुनावमा जाने कुरा भए पछि उता नेकपाले प्रवास कमिटी राख्ने नराख्ने ठोस निर्णय भएर नामावली नआए पनि म लगायत प्रवासी नेपाली एकता मञ्चका तिनै जनाले राजीनामा दिएर यता चुनावमा आयौं र अत्याधिक बहुमतले विजयी पनि भयौँ। सायद सेप्टेम्बर २०१९ को अन्तिम तिर पुरानै नामावली सहित नेकपाको प्रवास कमिटीले निर्णय गरेर पठाएको अवस्थामा हजुरहरु सबैलाई के घनिभुत रुपमा जानकारी गराउन चाहन्छु भने यो भन्दा अगावै राजीनामा भइसकेको छ। अर्को कुरा फेब्रुअरी ११ मा केन्द्रले जारी गरेको निर्देशनलाई आत्मासात गर्दै राजीनामा गरेको कुराको जानकारी केन्द्रमा पनि पठाइसकेका छौं। केन्द्रले क कसले कुन देशबाट राजिनामा बूझाए नामावली सहित निकालिदिए यो भ्रम अझ बढी चिरिन्थ्यो। पञ्जिकृत सदस्यहरुलाई के भन्न चाहन्छु भने सत्य र तथ्य यही नै हो बाँकी कुरा हजुरहरु यो भ्रमको खेतीको फसल लाग्ने वाला छैन भनेर बुझ्नु भएकै छ। असङ्ख्य सत्यका सलहले यी भ्रमका खेती नष्ट गर्नेछन ।

समाजमा जातिय, क्षेत्रीय, लैङ्गिक र राजनैतिक संघसंस्था पनि छन। सबैको आ आफ्नै मौलिक उद्देश्य र संस्थागत चरित्र छन।एनआरएनए फ्रान्सको चरित्र भनेको सबै प्रतिनिधात्मक हो ।संस्थामा को व्यक्ति छ या अनुहारको छ भन्ने कुराले अर्थ राख्दैन बरु सामाजिक मुद्दाहरुको संबोधन भयो भएन भन्ने कुराले अर्थ र महत्व दुवै राख्ने हुँदा हाम्रो ध्यान परिणाममुखी हुनुपर्छ। संस्थाले स्थानीय विधान, केन्द्रीय विधान र नजिरलाई पनि आत्मसात गरेर अगाडी बढेको हुँदा त्रुटिहरु हुने संभावना नगन्य छ। प्रतिगामी र अग्रगामी बीच द्वन्द्व चलिनै रहन्छ, यही नै विज्ञान हो, प्रतिगामी शक्तिले जति पछाडि धकेल्छ त्यो भन्दा कयौं गुना बढी अग्रगामी उर्जा अगाडि बढ्छ । सही गलत पनि दृष्टिकोण, भ्रम र स्थानको कमाल मात्र हो। संस्थागत सही गलत र व्यक्तिगत सही गलत फरक कुरा हुन। संस्थाको लागि संस्थागत सही हुनुपर्छ।

समाजमा सही भन्दा पनि गलत र भ्रामक कुरा छिटो फैलिन्छ।यही हो समाजको विशेषता अहिलेको। समय लाग्छ सहीले सही मार्ग तय गरेर आउन तर अवस्य आउँछ र उजागर हुन्छ। गलत र भ्रमलाई जताबाट पनि हिडिदिए पनि भो या दौडिदिए पनि भो। उसको अस्तित्व र पहिचान नै त्यही हो। अझ म के भन्छु भन्दा सकारात्मक उर्जा र नकारात्मक उर्जा दुवैको तार मिलेर नै बत्ती बल्छ। नकारात्मकताको पनि सही प्रयोग गर्न सकिन्छ। भ्रम र दुष्प्रचारले खडा गरेको माहोलमा अलोकप्रिय होइएला,जनमत घट्ला,आगामी वातावरण मेरो लागि प्रतिकूल होला भनेर म मेरो व्यक्तिगत संवेगहरुको कुरा सुन्ने या मान्ने वाला छैन। म जब सम्म संस्थामा छु तब सम्म संस्थागत सोच्छु र संस्थागत चरित्र नै धारण गर्छु। धन्यवाद


प्रकाशित | १७ जेष्ठ २०७७, शनिबार १६:२०