को हुन् एनआरएनए अमेरिकाका अध्यक्ष उम्मेदवार कृष्ण लामिछाने, कस्ता छन् चुनावी प्रतिबद्धता ?

टेक्सस । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको आगामी अध्यक्षमा कृष्ण लामिछानेले औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्नुभएको छ । एनआरएनए अमेरिकाको पूर्ब बोर्ड अफ डाइरेक्टर लामिछानेले अध्यक्षमा औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।विगत २० वर्षदेखि अमेरिकामा बस्दै आउनुभएको लामिछाने नेपाली समाज टेक्ससको अध्यक्ष लगायत विभिन्न सामाजीक संस्थाहरूको नेतृत्व गरिसक्नुभएको छ ।

को हुन लामिछाने ?

नेपालको गोरखा जिल्लामा जन्मिएर जीवनका केही क्षणहरु राजधानी काठमाडौंमा पेशा र व्यबसायको सिलसिलामा बिताउनुभएको लामिछाने विगत झण्डै २० वर्षदेखि अमेरिकाको डालसलाई कर्मभूमी बनाएर व्यबसाय र समाजलाई परिआएको सहयोग गर्दै आउनुभएको छ ।

‘डालस एभरेष्ट लायन्स क्लबको बिभिन्न पदमा रहँदा र नेपाली समाज टेक्ससको अध्यक्ष हुँदा सो क्षेत्रमा आफ्नो क्षमताले भ्याएसम्म गरेको सहयोग कसैबाट छिपेको छैन । तपाईहरु सबैको मूल्यांकनमा ‘मर्दा र पर्दा कृष्ण लामिछाने’ हुन सकेँ । त्यो मेरा लागि आफूले प्राप्त गरेको गहनाका रुपमा मैले लिँदै आएको छु’, लामिछाने भन्नुहुन्छ ।

नेपालीहरुलाई आपत विपद् पर्दा, निधन हुँदा आवश्यक सहयोग देखि लिएर रोजगारीका लागि सहयोग गर्दै आउनुभएको लामिछानेले सन् २०१७-१९ को अवधिमा गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको बोर्ड मेम्बर भएर संस्थाको पारदर्शीताका विषयमा मुद्धाहरु उठाउँदै आउनुभयो।

‘दुई दशकको अमेरिका बसाई र बिभिन्न संस्थाहरुमा रहेर नेतृत्व प्रदान गरिसक्नु भएको अनुभवले मलाई एक पटक एनआरएनए अमेरिकाको नेतृत्व गरेर अमेरिकामा रहेका नेपाली समुदायलाई योगदान गर्ने मेरो चाहना रहेको छ’, लामिछाने भन्नुभयो, ‘यसका लागि तपाईहरु सबैको साथ र सहयोग मलाई जरुरी रहेको छ । मैले कहिल्यै पनि सामुदायीक कामका अघिल्तिर आफ्नो व्यक्तिगत कामलाई प्राथमिकतामा राखिन । आउँदा दिनहरुमा पनि समाज, समुदायनै मेरा लागि प्राथमिकतामा रहने विषयहरु हुनेछन् ।’

त्यस्तै, लामिछानेले एक कार्यक्रमकाबीच औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्नुहुँदै सबैको साथ र सहयोगले आफू विजयी हुनेमा ढुक्क रहेको बताउनुभयो । ‘मैले विगतमा नेपाली समाज टेक्सस मार्फत गरेको सेवालाई अमेरिकाभरि रहेका नेपाली समुदायमा पुग्ने मेरो चाहनालाई यहाँहरु सबैको सहयोग चाहिएको छ’, लामिछानेले भन्नुभयो, ‘एनआरएनएलाई बलियो, युवाहरुको वाहुल्यता रहेको, मर्दा र पर्दा सबैले नाम लिने साझा संस्थाका रुपमा चिनाउनु मेरो मुख्य योजना रहेको छ । त्यसमा तपाईहरु सबैको साथ र सहयोग चाहिएको छ ।’

यस्ता छन् लामिछानेका चुनावी प्रतिबद्धता ?

१. सहभागिता वृद्धि गर्नेः

एनआरएनए अमेरिकामा म निर्वाचित भएँ भने महिला र युवाहरुको सहभागिता कम्तिमा एक तिहाई गर्न मेरो पहल रहनेछ । किनकी समाजको आधा हिस्सा रहेको हाम्रा आमा, दिदी बहिनीहरुलाई हामीले यो संस्थामा सदस्य बन्नदेखि लिएर सहभागिताको क्षेत्रमा प्रोत्साहन गर्न जरुरी छ । त्यस्तै युवाहरुले हामीभन्दा धेरै बुझेका, जानेका छन् । उनीहरुको सहभागिता बढाउँदै जाँदा एनआरएनएले अझै गति लिने र आकर्षण बढ्ने निश्चित छ ।

२. सामुदायीक केन्द्र र पाठशालाः

अमेरिकाका धेरै शहरहरुमा नेपालीहरुको संख्या व्यापक रुपमा बढिरहेको छ । यही सन्दर्भमा ती स्थानहरुमा सामुदायिक केन्द्र निर्माण गर्नका लागि एनआरएनए अमेरिकाले विशेष सहयोगको नीति मेरो कार्यकालमा लिनेछ । त्यस्तै हाम्रा बालबालिकाहरुलाई नेपाली भाषा, नैतिक शिक्षा अध्ययन, अध्यापनका लागि पाठ्यक्रम तयार भैसकेकोले त्यस अनुसार शिक्षकहरुलाई तालिम, कक्षाहरु सञ्चालनमा पनि सहयोग गर्ने मेरो योजना रहेको छ । संभव भएसम्म ती पाठशालाहरुमा समर क्याम्प सञ्चालन गर्न सहयोग गर्नेछु ।

३. एनआरएनए अमेरिकाको लागि एउटा सचिवालयको स्थायी व्यबस्था गर्नेतर्फ म केन्द्रित रहेनेछु । त्यसका लागि एकजना पूर्णकालिन कर्मचारी राखेर नेपालीहरुमा सेवा पु¥याउने मेरो योजना रहेको छ ।

४. हामी अमेरिकामा बसेकाहरुबीच पनि नेपालको भूगोल, राजनीतिका आधारमा विभाजन छ । यसलाई रोक्न जरुरी भैसकेको छ । हामी अमेरिकामा बस्नेहरु अमेरिकन नेपाली हौँ भन्ने भावना सबैमा जागृत गराउन मेरो पहल रहनेछ ।

५. जे निर्णयहरु गर्नुपर्दा पनि सहमति र सहकार्यको अवधारणालाई कार्यान्वयन गर्नु मेरो मुल लक्ष्य रहनेछ । सामाजीक कार्यमा एक इन्च पनि कसैले व्यक्तिगत र संस्थागत रुपमा औँला ठड्याउने वातावरण मैले दिनेछैन ।

६. च्याप्टरहरुलाई बलियो बनाउनु मेरो मुख्य योजना रहेको छ । त्यसका लागि च्याप्टरका अध्यक्षहरु एनआरएनए अमेरिकाको पदेन बोर्ड अफ डाइरेक्टर हुनेगरि विधानमा आवश्यक संशोधनको प्रकृया अघि बढाउनेछु । किनकी च्याप्टर बलियो भयो भने एनआरएनएको भूमिका अझै बलियो र प्रभावकारी हुन्छ भन्ने मेरो बुझाई छ ।

७. मैले एनआरएनए मार्फत अमेरिकामा रहेका नेपालीहरुका लागि सामुहिक जीवन तथा स्वास्थ बीमाको क्षेत्रमा कार्यक्रम अघि बढाउने योजना लिएको छु । यसबाट समुदायका सदस्यहरुमा आपत पर्दा ठूलो भरथेग हुनेछ ।

८. मेक्सिको हुँदै अमेरिका प्रवेश गरेका नेपालीहरुका लागि आवश्यक पर्दा सहयोग गर्ने योजना पनि बनाएको छु । यसका लागि अध्यागमन कानुनका जानकार वरिष्ठ अधिवक्ताहरुको एउटा रोष्टर समुह तयार पारेर अघि बढ्नेछु ।

. एनआरएनए अमेरिकाको एउटा आपतकालिन कोष अघि बढाउने मेरो सोच छ ।

१०. अमेरिका र नेपालबीच व्यापारका थप क्षेत्र पहिचान, नेपाली बस्तुको प्रवद्र्धनका लागि आफ्नो कार्यकालमा विशेष कार्यक्रम गर्ने सोच बनाएको छु ।

११. अमेरिकामा रहेका नेपाली डाक्टरहरुको रोष्टर तयार पारेर बिभिन्न शहरहरुमा नियमित निशुल्क स्वास्थ शिविर सञ्चालन गर्ने मेरो सोच रहेको छ ।


प्रकाशित | २४ फाल्गुन २०७७, सोमबार २१:४३