काठमाडौं उपत्यकामा ७५५ सहित नेपालमा १ हजार ४९७ संक्रमित थपिए, १७ जनाको मृत्यु

काठमाडौं : नेपालमा थप १ हजार ४९७ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज ४५७ जना निको भएका छन्। यो सहित हालसम्म ५० हजार ४११ जना निको भएका छन् ।

पछिल्लो २४ घन्टामा ११ हजार ४४९ जनाको पिसिआर परीक्षण भएको छ। नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार ४३७ रहेको प्रवक्ता गौतमले बताउनुभयो ।

उपत्यकामा ७५५ थपिए

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७५५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जनालाई कोरोना संक्रमण देखिएको छ।

थप १७ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सहित नेपालमा संक्रमितको मृतक संख्या ४५३ पुगेको छ। १२ वटा जिल्लाका ५ महिला र १२ पुरुष गरी १७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

काठमाडौंमा ८२ वर्षीया महिला, ७५, ७९ र ८० जना वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ। मोरङमा ५५ वर्षीया महिला, झापामा ७८ वर्षीय पुरुष, सुनसरीमा ८१ वर्षीया महिला, धनुषामा ६८ र ७० वर्षीय पुरुष, रौतहटमा ६५ वर्षीय पुरुष, भक्तपुरमा ७३ वर्षीया महिला र ८४ वर्षीय पुरुषको मृत्यु भएको छ।

यस्तै, धादिङमा ३२ वर्षीया महिला, तनहुँमा ३९, दाङमा ३९, कपिलवस्तुमा ५० र नवलपरासीमा ५५ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

यसअघि बुधबार नेपालमा ७ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६५ प्रतिशत छ।


प्रकाशित | ८ आश्विन २०७७, बिहीबार १६:३९