मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं: आज पनि देशका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका साथै नेपालको पूर्वी भूभाग नजिकै निम्न चापीय रेखा रहेकाले आज पनि वर्षाको सम्भावना रहेको हो ।

आज दिउँसो र र राती देशभर सामान्य बदली रहेर केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । महाशाखाद्वारा जारी ३ दिनको मौसम पूर्वानुमान बुलेटिनअनुसार आइतबार पनि देशभर मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

सोमबार देशको पूर्वी भूभाग लगायत मध्य तथा पश्चिमी पहाडी भूभागमा सामान्य बदली रहेर बाँकी भूभागमा मौसम आंशिक बदली रहनेछ । पूर्वी भूभागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


प्रकाशित | १७ जेष्ठ २०७७, शनिबार ०७:४०