राष्ट्रपति भण्डारी बङ्गलादेशतर्फ प्रस्थान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेश प्रस्थान गर्नुभएको छ । राष्ट्रपति भण्डारी आज दुईदिने राजकीय भ्रमणका लागि बंगलादेश प्रस्थान गर्नुभएको हो । राष्ट्रपति भण्डारी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार बिहान ८ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को न्यारो बडी ए ३२० जहाजबाट ढाका प्रस्थान गर्नुभयो ।

राष्ट्रपतिको भ्रमण दलमा राष्ट्रपतिका छोरी उषाकिरण भण्डारी, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रपतिका सञ्चार विज्ञ टीकाप्रसाद ढकाल, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, राष्ट्रपतिको कार्यालयका सचिव डा हरि पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराई र राष्ट्रपतिका स्वकीय सचिवालयका प्रमुख डा भेषराज अधिकारी रहनुु भएको छ ।

त्यस्तै, परराष्ट्र मन्त्रालयका सहसचिव यज्ञबहादुर हमाल, मन्त्रालयका शिष्टाचार महापाल डा दुर्गाबहादुर सुवेदी, राष्ट्रपतिका निजी चिकित्सक डा कैलाश भण्डारीलगायत ढाकास्थित नेपाली दूतावासका कर्मचारीसमेत गरी ५४ जना भ्रमण दलमा हुनुहुन्छ । भ्रमण दलमा कलाकार अशोकुमार राईको नेतृत्वमा सांस्कृतिक कलाकर्मीको १९ सदस्यीय टोली तथा तीन सञ्चारकर्मी पनि हुनुहुन्छ ।

राष्ट्रपति भण्डारी समकक्षी मोहमम्द अब्दुल हमिदको निमन्त्रणामा बंगलादेश जानुभएको हो । भ्रमणका क्रममा नेपाल र बंगलादेशको बीचमा रहेको पारवहन सम्झौता संशोधनसम्बन्धी सम्झौतालगायत कम्तीमा चारवटा समझदारी पत्रमा हस्ताक्षर हुने बताइएको छ ।

राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपिता बंगलाबन्धु शेख मुजबुर रहमानको सतवार्षिकी जन्म जयन्तीमा सहभागी हुने कार्यक्रम पनि छ । सो कार्यक्रममा भण्डारी नेपाल -बंगलादेश सम्बन्धको बारेमा प्रवचन दिने कार्यक्रम छ । भण्डारीले बंगलादेशका समकक्षी मोहमद अब्दुल हमिदसँग विभिन्न दुईपक्षीय विषयमा कुराकानी गर्ने कार्यक्रम छ ।

त्यस्तै, भण्डारी समकक्षीले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनुहुनेछ । त्यसैगरी राष्ट्रपति भण्डारीले त्यहाँको सहिद स्मारिकको भ्रमण गर्ने कार्यक्रम रहेको छ । ढाकास्थित नेपाली दूतवास भ्रमण गरी त्यहाँ रहेका नेपाली समुदायसँग भेट गर्ने कार्यसूची रहेको छ ।


प्रकाशित | ९ चैत्र २०७७, सोमबार ०९:२२