अछाम : धनगढीबाट आएकी छोरीलाई अँगालो मार्दा १ महिला क्वारेन्टाइनमा बस्न बाध्य भएकी छिन् । आफ्नै छोरीलाई माया गर्दा घरमै रहेकी ती महिलाले क्वारेन्टाइनको बास होला भन्ने कल्पनासम्म गरेकी थिइनन् । बसबाट झरेपछि छोरीलाई मायाले अंगालो मार्दा ४१ वर्षीया महिलालाई चौरपाटी गाउँपालिका–६ दुनीको क्वारेन्टाइनमा राखिएको छ ।
माइती घर आएकी छोरीलाई साथमा ल्याउन चौखुट्टे गएकी दुनी निवासी ती महिलाले छोरीलाई छोएको भन्दै क्वारेन्टाइनमा राखिएको वडा अध्यक्ष मने साउँदले जानकारी दिए । वडा अध्यक्ष साउँदका अनुसार धनगढीबाट अरुसँगै बसमा आएकी युवतीलाई मात्र क्वारेन्टाइनमा राख्ने तयारी भए पनि आमाले छोएका कारण कोरोनाको सम्भावित सङ्क्रमणको आशंकामा दुवैलाई क्वारेन्टाइनमा राखिएको हो ।
क्वारेन्टाइनमा राखिएका व्यक्तिलाई स्वास्थ्य परीक्षणपश्चात् घर पठाइने छ । उनीहरूलाई कति दिनसम्म क्वारेन्टाइनमा राख्ने भन्नेमा बैठकपछि निश्चित हुने बताइएको छ । धनगढीमा सुरक्षित रहेकी छोरी बसमा अन्य व्यक्तिसँग आउँदा कोरोना संक्रमण भएको हुनसक्ने भन्दै उनलाई क्वारेन्टाइनमा राख्ने विषय पूर्वनिर्धारित रहेको बताइएको छ । जिल्लाबाहिरबाट अछाम आएका व्यक्तिले कम्तीमा २१ दिन क्वारेन्टाइन बस्नुपर्ने बाध्यात्मक व्यवस्था रहेको छ ।
गएको २४ वैशाख यता भारतबाट ३ सय ३ जना र जिल्लाबाहिरबाट २३ जना ३२६ जना चौरपाटी गाउँपालिकाका विभिन्न वडामा आएको गाउँपालिका अध्यक्ष हर्कबहादुर साउँदले जानकारी दिए । तीमध्ये हालसम्म १२ जना क्वारेन्टाइनमा बसेर घर गइसकेको बताइएको छ ।
आजको गोरखापत्र दैनीकबाट
प्रकाशित | १६ जेष्ठ २०७७, शुक्रबार ०७:२६