एनआरएनए अमेरिकाद्धारा आइसिसीलाई १० हजार अमेरिकी डलर सहयोग गर्ने निर्णय

न्यूर्योक:  गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाले आइसिसीको कोभिड १९ कोषमा १० हजार अमेरिकी डलर सहयोग गर्ने निर्णय गरेको छ । एनआरएनए अमेरिकाको नवौँ बैठकले आइसिसीलाई १० हजार अमेरिकी डलर सहयोग गर्ने निर्णय गरेको हो ।

अध्यक्ष सुनील साहले कोरोनाको कारण विभिन्न देशमा नेपालीहरु समस्यामा परेको विषयलाई ध्यान दिदैं विश्वका कुनै पनि देशमा बस्ने नेपालीलाई सहयोग पुगोस भन्ने उद्देश्यले आइसिसीलाई सहयोग गर्ने निर्णयसँगै आइसिसीको खातामा रकम पठाइएको जानकारी गराउनुभयो ।

बैठकले कोरोना महामारीको कारणले उत्पन्न परिस्थितिमा केन्द्रित रहि आगामी नवौँ साधारण सभा अनलाइन डिजिटल प्रविधि प्रयोग गरी पूर्व निर्णय बमोजिमकै मिति जुलाई ४ र ५ मा गर्ने निर्णय समेत गरेको छ ।

उक्त साधारण सभा सँगै विभिन्न विज्ञहरूको कार्यपत्रहरू समावेश गरी नलेज सेयरिंग कन्भेन्सन गर्न डा. तारा सिग्देलको संयोजकत्वमा एउटा आयोजक समिति बनाउने निर्णय पनि गरिएको छ ।

महासचिव पशुपति पाण्डेका अनुसार बैठकले महामारीको रूपमा फैलिएको कोरोना भाईरसको कारणले उत्पन्न विषम परिस्थितिमा एनसीसीले हाल सम्म गरेका कामहरूको मुल्याकन गर्दै अवका दिनमा चाल्नुपर्ने कदमहरूका बारेमा विस्तृत छलफल समेत गरेको छ ।

त्यस्तै, बैठकले हालै छिमेकी राष्ट्र भारतले गरेको सीमा अतिक्रमणको विषयमा अमेरिकास्थित भारतीय दूतावास समक्ष बिरोधपत्र पेस गरेको सम्बन्धमा छलफल गर्दै छिमेकी राष्ट्र भारतले गरेको सीमा अतिक्रमणको बिषयमा एनआरएनए आईसीसीले गरेको निर्णय प्रति ऐक्यबद्धता जनाउने निर्णय पनि गरेको छ ।

बैठकले उपाध्यक्ष सर्वज्ञ वाग्लेबाट लिखित उपन्यासम “पुनर्वास” मा सीमा क्षेत्रको समस्या उजागर गर्नुभएकोमा उहाँको मेहेनत र साहसको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गर्ने निर्णय समेत गरेको छ ।

बैठकमा कोषाध्यक्षले प्रस्तुत गर्नुभएको पहिलो त्रैमासिक प्रतिवेदन पास गर्नुका साथै युवा सम्मेलन लगायतका कार्यक्रमहरूको खर्चहरू फर्छ्यौट गर्ने निर्णय गरेको छ ।

साथै उक्त बैठकले एनआरएनए एनसीसीको लागी अनुशासन आचार संहिता पारित गर्दै एउटा अनुशासन समिति गठन गर्ने निर्णय गरेको छ । उक्त कमिटी गठन नहुँदा सम्मका लागि अनुशासन कमिटीको जिम्मेवारी संस्थाको अध्यक्ष सुनील साहलाई प्रदान गर्ने समेत निर्णय गरिएको महासचिव पाण्डेले जानकारी गराउनुभयो ।


प्रकाशित | १४ जेष्ठ २०७७, बुधबार ११:५९