जाग्दैछ कोरोना खोपको आशा, ९ वटा खोप परीक्षणको तेस्रो चरणमा

काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) का निम्ति खोप विकास गर्न अन्तर्राष्ट्रिय समुदाय लागिरहेको छ । प्रभावकारी निष्कर्ष अझै आउन सकेको छैन । ९ वटा खोप परीक्षणको तेस्रो चरणमा पुगेको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले जनाएको छ । हाल विश्वभर १५५ भन्दा बढी खोप विकासको परीक्षण चलिरहेको छ ।

अनुसन्धान भइरहेका ती खोपले मानव समुदायलाई आशा भने जगाएको छ । डब्लूएचओका अनुसार पहिलो र दोस्रो चरण पार गरिसकेका र पार गर्दै गरेका १० वटा खोप निष्कर्षमा पुग्ने उच्च सम्भावना छ ।

चीनको ‘एडेर्नो भाइरस टाइप ५ भेक्टर’ र अमेरिकाको ‘एमआरएनए’ भ्याक्सिनको सबैभन्दा बढी प्रभावकारी परीक्षण देखिएको छ ।

यी बाहेक अन्य ३ वटा चीनले ‘इनएक्टिभेटेड’ तर्फको खोप अध्ययन कार्य दोस्रो चरणमा पुर्‍याएको छ । त्यस अन्तर्गतको एउटा खोप भने पहिलो चरणमा छ । त्यसपछि भारत र अक्सफोर्ड युनिभर्सिटीको सहकार्यमा ‘नन रिप्लेसिङ भाइरल भेक्टर’का रूपमा एक खोप तयार भइरहेको छ ।

नोभा भ्याक्सका तर्फबाट प्रोटिन भ्याक्सिन र अन्य २ आएएनए र डीएन आधार भएको भ्याक्सिन पनि कोरोना विरुद्धमा बनिरहेको छ । यी सबैले दोस्रो चरण पार गरेका छन् । यी बाहेक अन्य १ सय १४ वटा खोप निर्माणको प्रारम्भिक चरणमा रहेको डब्लूएचओले शुक्रबार सार्वजनिक गरेको छ । कतिपय खोप विभिन्न प्राणीमा परीक्षण गरिएको छ भने कतिपय मानिसमा पनि परीक्षणका क्रममा छन् ।

छिटो बजारमा आउने सम्भावना रहेको अमेरिकामा विकास भइरहेको ‘एमआरएनए–१२७३’ नामक खोपको परीक्षण परिणाम उत्साहजनक छ । मोडेर्ना नामक औषधि कम्पनीले यसको निर्माण गरिरहेको छ । त्यस खोपको मानवमा पहिलो परीक्षणका क्रममा प्रतिरोध क्षमताको विकास गर्दै प्राणघातक भाइरसबाट मानिसलाई बचाउन सकेको कम्पनीको दाबी छ । योसँगै यसले दोस्रो चरणको परीक्षणबाट तेस्रो चरणको परीक्षणमा जाने अनुमति डब्लूएचओले दिएको छ ।

मोर्डनाका अनुसार तेस्रो चरणको परीक्षण जुलाई २०२० देखि सुरू हुनेछ । अहिले कार्यविधि बन्दैछ । अमेरिकी स्वास्थ्य मन्त्री एलेक्स अजारले यो वर्षको अन्त्य सम्ममा खोप आउनसक्ने विश्वास व्यक्त गरेका छन् । चीनमा निर्माणाधीन खोपले पनि मानव परीक्षणको पहिलो चरण पार गरेको छ । यसको परिणाम सुरक्षाजनक र तीव्र प्रतिरोध क्षमता निर्माण गर्ने खालको देखिएको बेलायतस्थित एक मेडिकल जर्नलले जनाएको छ । यो खोप १०८ जना स्वयंसेवीलाई तीन समूहमा विभाजन गरी फरक डोज दिई परीक्षण गरिएको थियो ।

परीक्षण चीनका एकेडेमी अफ मेडिकल साइन्सेसका बायोलोजी प्राध्यापक केन वेईको नेतृत्वमा भइरहेको छ । यो बाहेक अन्य दुई खोप साकोभ्याक र पिकोभ्याकसमेत मानवमा परीक्षणका लागि डब्लूएचओबाट अनुमति पाइसकेको छ ।

अमेरिकी औषधि कम्पनी फाइजर इङ्क र बायोटेक एसई, जर्मन इम्युनोथेरापी कम्पनीका साथै जापानमा पनि छवटा खोप विकासका क्रममा छन् । खोप ओस्का विश्वविद्यालय, टोकियो विश्वविद्यालय र नेसनल इन्स्टिच्युट अफ इपिडिमियोलोजीका साथै अन्य संस्था सक्रिय रहेको त्यहाँका स्वास्थ्य निकायले जनाएका छन् ।

जर्मन युनिभर्सिटी अफ मारबर्गको भिरोलजी संस्थानले पनि मानवमा परीक्षणको तयारी गरिरहेको छ । अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताले गत फेबु्रअरीमा कोरोना भाइरस विरुद्धको खोप निर्माण थालेका थिए र परीक्षण जारी छ ।

खोप बने पनि विकासशील देशमा पहुँच पुग्न समय लाग्नेछ । नेपाल जस्ता अति कम विकसित मुलुकमा त झनै समयमा आउन कठिन छ । नेपालका चिकित्सक प्रकाश बुढाथोकीले खोपमा पहुँच पुग्न समय लाग्ने बताए । उनका अनुसार १ प्रभावकारी खोपको विकास गर्न धेरै चरण पूरा गर्नुपर्छ ।

विकसित भइसकेपछि पनि औद्योगिक उत्पादन र बजारसम्म पुग्न समय लाग्छ । कोरोना महामारी विरुद्धको ती खोप विकास भइहालेमा पनि छिटो आएमा सन् २०२१ को अन्तिमतिर मात्र आउने उनको अनुमान छ । आजको गोरखापत्र दैनिकबाट


प्रकाशित | १२ जेष्ठ २०७७, सोमबार ०८:०१