घरमै बसेर चाडपर्व मनाऔँ

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण दिनहुँ बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यस पटकको दशैँ लगायतका चाडपर्व घरमै बसेर मनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले सुरक्षित रूपमा चाडबाड मनाउनुपर्ने भन्दै यो पटकलाई घरमै बसेर दशैँ मनाउन आग्रह गर्नुभयो । उहाँले आफ्नो परिवारको सुरक्षाका निम्ति जमघट नगरी दशँै, तिहार मनाउन सुझाव दिनुुभयो । उहाँले ज्यान रहे अर्को वर्ष जमघट र धूूमधामसँग पर्व मनाउन सकिने बताउनुभयो ।

उहाँले घरमा मृत्यु भएका सङ्क्रमितको शव व्यवस्थापन परिवार आफैँले गर्नुपर्छ भन्ने भनाइलाई तोडमोड गर्न खोजिएको बतउनुभयो । उहाँले कतिपय मानिसले आफ्नो धर्म संस्कृतिअनुसार शव व्यवस्थापन गर्नुपर्ने माग राखेकाले उक्त शव व्यवस्थापन परिवारले गर्नुपर्ने भनिएको स्पष्ट गर्दै शवको व्यवस्थापन नेपाल सरकारले गरिरहेको स्पष्ट पार्नुुभयो ।

यस्तै उहाँले कोरोना परीक्षण शुल्क हुने वर्गले आफ्नै खर्चमा गरिदिए अन्य विपन्नलाई सहयोग पुग्ने मन्त्रालयको भनाइ रहेको बताउनुभयो । हाम्रोजस्तो स्रोतसाधन कम भएको देशमा हुनेखाने वर्गले पीसीआर परीक्षण तथा उपचार खर्च गरिदिए गरिब, विपन्न, एकल महिलालाई निःशुल्क उपचार गर्न सहज हुने बताउनुभयो ।

यसैबीच गत २४ घण्टामा देशभर थप तीन हजार ७९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकमा थप दुई हजार ३८८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । यस्तै सोमबार देशभर थप १८ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

मन्त्री नेम्वाङलाई कोरोना

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई कोरोना (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । उहाँले सो कुराको जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुुभएको छ । मन्त्री नेम्वाङलाई कोभिड–१९ को लक्षण देखिएपछि गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएको जानकारी उहाँका स्वकीय सचिव गणेश योङ्हाङले दिनुभयो ।

आधारभूत अस्पताल निर्माण गरिने

सरकारले कोरोना (कोभिड–१९)बाट सङ्क्रमितको उपचारका लागि सबै स्थानीय तहमा पाँचदेखि १५ शøया सम्मको आधारभूत अस्पताल निर्माण गर्ने भएको छ । मङ्सिर १५ गते ती अस्पतालको शिलान्यास एकै पटक गर्ने तयारी थालिएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले गोरखापत्रसँग कुरा गर्दै सरकारले कोभिड–१९ बाट सङ्क्रमितको उपचारका लागि सबै स्थानीय तहमा पाँचदेखि पन्ध्र शप्या सम्मको आधारभूत अस्पताल स्थापना गर्ने तयारी सुरु गरेको जानकारी दिनुभयो । आजको गोरखापत्र दैनीकमा प्रकाशित समाचार छ ।


प्रकाशित | ४ कार्तिक २०७७, मंगलवार ०६:५६