एनआरएनएद्धारा कोरिया, चीन र मकाउको सहयोगमा प्राप्त स्वास्थ्य सामाग्री सरकारलाई हस्तान्तरण

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) ले राष्ट्रिय समन्वय परिषद् चीन, दक्षिण कोरिया र मकाउको सहयोगमा प्राप्त स्वास्थ्य सामाग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । आज एक समारोहका बीच संघका उपाध्यक्ष सोनाम लामाले स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका महानिर्देशक महेन्द्र श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा संघका उपाध्यक्ष सोनाम लामाले स्वास्थ्य सुरक्षा सम्बन्धी उपकरण उपलब्ध गराई सहयोग गरेकोमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् चीन, दक्षिण कोरिया र मकाउ प्रति हार्दिक आभार प्रकट गर्नुभयो ।

तीन देशका एनसिसीबाट प्राप्त  स्वास्थ्य सुरक्षा सम्बन्धी उपकरणहरु केएन नाइन्टी फाइव मास्क १२००० थान, शु- कभर, २००० थान, चश्मा २००० थान र आइआर थर्मामिटर १९० थान नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण कार्यक्रममा स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखका शाखा अधिकृत केदार उप्रेती, गैरआवासीय नेपाली संघ सचिवालयका कार्यकारी निर्देशक राजेश राणा र सहायक कार्यक्रम अधिकृत कुनाल मिश्रको सहभागीता रहेको थियो ।


प्रकाशित | ८ जेष्ठ २०७७, बिहीबार २०:१३