अमेरिकामा १२ सय डलरको राहत ४० लाखलाई डेबिट कार्ड मार्फत पठाइने

न्यूयोर्क: अहिलेसम्म कोरोनाको महामारीबाट उत्पन्न आर्थिक संकटको सामना गर्न अमेरिकी सरकारले उपलब्ध गराएको १२ सय डलरको राहत बैंक एकाउन्टमा वा चेकमार्फत पठाउने गरिएको छ । तर अब उक्त रकम डेबिटकार्ड मार्फत समेत पठाइने भएको छ । झण्डै ४० लाखलाई डेबिट कार्डमार्फत पठाइने अमेरिकाको ट्रेजरी डिपार्टमेन्टले जनाएको छ ।

डेबिटकार्डमार्फत व्यक्तिले रकम छिटो प्राप्त गर्नसक्ने जनाइएको छ । प्राप्त हुनासाथ डेबिट कार्ड एक्टिभेट गरेर सामान किन्न, एटीएमबाट निकाल्न र निशुल्क बैंक एकाउन्टमा समेत पठाउन सकिनेछ । डेबिट कार्ड प्राप्त गरेर बैंक खाता नहुनेहरुले समेत सहजै उक्त रकम प्रयोग गर्न पाउने भएका छन् ।

विगत ५ हप्तामा अमेरिकी सरकारले झण्डै १४० मिलियनलाई बैंकखाता वा चेकमार्फत रकम पठाइसकेको छ । अझैपनि झण्डै १ करोड व्यक्ति रकम प्राप्त गर्न प्रतिक्षामा रहेका छन् ।

आईआरएससँग डाइरेक्ट डिपोजिटका लागि बैंक एकाउन्ट नभएकाहरुलेमात्र डेबिट कार्ड प्राप्त गर्नेछन् । यसो गर्दा बैंक एकाउन्ट नहुनेहरुलाई पनि चेकलाई नगद बनाउन वा डिपोजिटको झन्झट हुनेछैन ।

चेकको साटो डेबिट कार्ड पठाउन लागिएको हो । अनलाइनमार्फत बैंक एकाउन्ट उपलब्ध गराउने विकल्पको म्याद सकिएको छ । तर विगतका बर्षमा कम आम्दानी भएका कारण ट्याक्स फाइल नगरेकाहरुले अझै पनि अनलाइनमा आफ्नो विवरण दिएर रकम प्राप्त गर्नसक्नेछन् ।


प्रकाशित | ७ जेष्ठ २०७७, बुधबार ०७:१९