इटालीमा जुन पहिलो सातादेखि अन्तर्राष्ट्रिय उडान सञ्चालनको स्वीकृति

काठमाडौं : इटाली सरकारले शनिबार अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने सम्बन्धी मापदण्ड स्वीकृत गरेको छ । यो मापदण्ड इटालीले आगामी जुन महिनाको पहिलो सातादेखि अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने तयारी अनुरुप सो मापदण्ड स्वीकृत गरेको हो ।

कोरोना भाइरसको महामारीले विश्वमै सबैभन्दा कठोर लकडाउन व्यवस्था गरेको इटालीको स्वीकृत मापदण्ड बमोजिम जुन ३ देखि अन्तर्राष्ट्रिय उडान भर्ने अनुमति दिइएको छ । जुन ३ देखि इटालीमा आन्तरिक यात्रामा लगाइएको प्रतिबन्ध समेत पूर्णरुपमा हटाइने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ । सङ्क्रमणको दोस्रो तरङ्ग रोक्न जनजिवन सहज बनाउन यसप्रकारको व्यवस्था गर्न लागिएको प्रधानमन्त्री जिसेप कोन्टेले बताउनुभयो ।

इटालीमा कोरोना सङ्क्रमणबाट ३१ हजार ६०० जनाको मृत्यु भएको छ । फेब्रुअरी २१ मा इटालीमा पहिलो सङ्क्रमित फेला परेको थियो । मार्च ४ देखि लागू हुनेगरी देशब्यापी घुमफिरमा प्रतिबन्ध लगाउने इटाली पहिलो यूरोपेली राष्ट्र हो ।

मई ४ मा इटालीले उद्योग र पार्क खुला गर्ने निर्णय गरेको थियो । साना र ठूला पसल मई आइतबारदेखि खुल्दैछ । र आइतबारदेखि नागरिकले आ आफ्नो क्षेत्रको आफन्तसम्म पुग्न पाउनेछन् ।


प्रकाशित | ३ जेष्ठ २०७७, शनिबार १७:४१