अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन पन्ध्र सय शिशु जन्मने अनुमान

काठमाडौँ : अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिनमा आज नेपालभर एक हजार ५६७ शिशु जन्मिने अनुमान गरिएको छ । नेपाली नयाँ शिशुहरुको हिस्सा संसारभर नयाँ वर्षको दिनमा जन्मिने अनुमानित ३,९२,०७८ शिशुको तुलनामा ०.४ प्रतिशत हुनेछ ।

संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) नेपालले यस्तो अनुमानित आँकडा प्रक्षेपण गरेको हो । नयाँ वर्ष र नयाँ दशकको शुरुआतमा आफ्नो भविष्यका लागि हाम्रा आशा र आकाङ्क्षाबारे सोच्ने मात्र नभई हामीपछि आउनेहरुको भविष्यका लागि पनि सोच्ने अवसर रहेको युनिसेफका कार्यकारी निर्देशक हेनरिएटा फोरले जनाएका ।

प्रशान्त क्षेत्रको फिजीले सन् २०२० को पहिलो शिशु प्राप्त गरेको छ भने संयुक्त राज्य अमेरिकाले नयाँ वर्षको दिनको अन्तिम शिशु प्राप्त गर्नेछ । संसारभर, आज जन्मिने आधाभन्दा धेरै शिशु बढी सङ्ख्याका आधारमा क्रमशः भारत, चीन, नाइजेरिया, पाकिस्तान, इण्डोनेशिया, संयुक्तराज्य अमेरिकालगायत छन् ।

संसारभरका लाखौँ नवजात शिशुका लागि, उनीहरुको जन्म सुखद हुन नसकेको आँकडा प्रस्तुत गर्दै युनिसेफले सन् २०१८ मा, संसारभरका २५ लाख नवजात शिशु उनीहरु जन्मेको पहिलो महिनामै र तीमध्ये करीब एक तिहाइ उनीहरुको जीवनको पहिलो दिनमै मरेको जनाएको छ ।


प्रकाशित | १६ पुष २०७६, बुधबार १८:२७