एनआरएनएको निर्वाचन पनि उच्चस्तरीय समितिले नै गर्नुपर्छ : कुल आचार्य

काठमाडौं – गैर आवासीय नेपाली संघका अध्यक्ष पदका उम्मेदवार कुल आचार्यले एनआरएनएको उच्चस्तरीय समितिमार्फत नै अधिवेशन र निर्वाचन गर्नुपर्ने बताउनु भएको छ । शेष घलेको संयोजकत्वमा शनिबार गठन गरिएको ७ सदस्यीय उच्चस्तरीय समितिले नै अधिवेशन र निर्वाचन सम्पन्न गर्नु संस्थाको हितमा हुने बताउनु भएको हो ।

टिभी सन्डेका लागि किरण मरहठ्ठासँगको कुराकानीमा आचार्यले उच्चस्तरीय समितिले वर्तमान अन्यौलतालाई चिर्दै अधिवेशन र निर्वाचन दुवै सम्पन्न गर्नुपर्ने धारणा ब्यक्त गर्नु भएको हो ।

संघका सल्लाहकार समेत रहनु भएको आचार्यले संस्थाको सर्वेात्तम र उपयुक्त निकाय नै उच्चस्तरीय समिति भएकाले कोही पनि कुनै पक्षमा नलागी अभियानलाई धरासायी नहुने गरि विवादलाई टुंगोमा पुर्याएर पारदर्शी रुपमा निर्वाचन हुने विश्वास ब्यक्त गर्नु भयो ।

समितिमार्फत निर्वाचन गरिएमा मात्र सबैको विश्वास हुने बताउँदै आचार्यले वर्तमान अध्यक्ष, पूर्व अध्यक्षहरु र संरक्षक सबै जना समितिमा रहेको हुँदा समितिले नै गर्दा राम्रो र संस्थाको हितमा हुने कुरामा सबैको सहमति रहेको बताउनु भयो ।

‘निर्वाचन उहाँहरुले गर्नुपर्छ र गर्नुहुन्छ । डेलिगेट्सको समस्या समाधान भएर पारदर्शी रुपमा गर्नुपर्छ भनेर हामी बीच सहमति भएको हो’, उहाँले भन्नु भयो ।

उहाँले विधानमा स्पष्ट रुपमा ६५ प्रतिशत नयाँ र पुरानो कार्यसमितिले पठाउने भनेर कतै उल्लेख नभएको अवस्थामा नियमावलीमा खुसाएर पुरानोले पठाउने भनीएकाले आफूहरुको असहमति रहेको बताउनु भयो । पुरानो कार्यसमितिले डेलिगेट्स तयार गरेर आफ्ना अनुकुलका मान्छेलाई जिताउने भन्ने डिजाइन रचीएकाले अहिलेको अवस्था सिर्जना भएको बताउँदै आचार्यले ६५ प्रतिशतको हकमा एनसिसीबाट फेरि लिष्ट मगाउनुपर्छ भन्नेमा आफू अडिढ रहेको बताउनु भयो ।

एनआरएन चुनाव हुनेमा आफू पूर्ण विश्वस्त रहेको बताउँदै एनआरएनए अभियान बचाउन अब झगडा गर्ने, चाहिने नचाहिने काम गर्ने र विधी विधानलाई बंग्याउने काम कसैले गर्न नहुने पनि उहाँले बताउनु भयो ।


प्रकाशित | २ माघ २०७८, आईतवार २१:३३