२४ बैंकको नाफा अर्बभन्दा बढी, धेरै नाफा गर्नेमा राष्ट्रिय वाणिज्य र नबिल बैंक नै दोहोरिए

काठमाडौं : चालू आर्थिक वर्ष ९२०७६/७७० को तेस्रो त्रैमास अर्थात चैत मसान्तसम्ममा एक अर्बभन्दा धेरै नाफा गर्ने बैंकको संख्या २४ पुगेको छ । गत आर्थिक वर्षको चैतसम्ममा अर्बभन्दा धेरै नाफा गर्ने बैंकहरूको संख्या २६ रहेको थियो ।

तर, गत आर्थिक वर्ष चैतसम्मको तुलनामा २ अर्बभन्दा धेरै नाफा गर्ने बैंकको संख्या भने थपिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब नाफा गर्ने वाणिज्य बैंकको संख्या ६ थियो । त्यो संख्या बढेर चालू आवको तेस्रो त्रैमासमा ७ पुगेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा २ अर्ब रुपैयाँभन्दा धेरै नाफा गरेको नेपाल बैंक चालू आवको चैतसम्मको नाफामा यो समूहबाट बाहिरिएको छ । तर, गत आर्थिक वर्षको चैतसम्ममा एक अर्बको नाफामा चित्त बुझाएका प्राइम कमर्सियल बैंक र ग्लोबल आइएमई बैंक चालू आवको तेस्रो त्रैमासमा २ अर्बभन्दा धेरै नाफा गर्ने समूहमा परेका हुन् ।

गत आर्थिक वर्षको चैत र चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ अर्बभन्दा धेरै नाफा गर्नेमा सरकारी लगानी भएको राष्ट्रिय वाणिज्य बैंक र निजी क्षेत्रको नबिल बैंक नै दोहोरिएका छन् । चालू आर्थिक वर्षको तेस्रो त्रैमासको अन्तिम महिनामा विश्वभरी फैलिएको भाइरसका कारण नेपालमा पनि लकडाउनको अवस्था रह्यो । गत चैत ११ देखि सुरु भएको लकडाउन जेट ५ गतेसम्म कायम रहेको छ । अगामी दिनमा पनि लकडाउन कतिसम्म जाने हो भन्नेमा अनिश्चित रहेको छ । लकडाउनका कारण सम्पूर्ण अर्थतन्त्र नै ठप्प रहेको अवस्था छ । बैंकहरूले त्रैमासको अन्तिम महिनामा असुलीलाई जोड दिने गर्छन् । तर, यो आर्थिक वर्षको चैत महिनामा बैंकहरूले त्यसो गर्न नसकेको देखियो । यो समाचार आजको कारोबार दैनीकमा भुवन पौडेलले लेखेका छन् ।

नेपाल राष्ट्र बैंकले पनि कर्जाको ब्याजदरमा सहुलियत दिने तथा कर्जा तिर्ने समय अवधिमा सन्दर्भमा खुकुलो नीति लिएपछि बैंकहरूलाइ झनै चुनौतिपूर्ण अवस्था रह्यो । तर, पनि बैंकहरूले कर्जा असुलीलाई बढाउन सकिन्छ कि भनेर केही छुटका योजनाहरू पनि ल्याएको अवस्था छ । तर, पनि ऋणीले सरकार तथा राष्ट्र बैंकको निर्णयलाइ शिरोपर गर्दै कर्जा भुक्तानीको लागि समय पर्खिए । त्यसले गर्दा पनि बैंकहरूको नाफा वृद्धिदरमा असर गरेको एक बैंकरले बताए । यसै कारणले पनि चालू आर्थिक वर्षको चैतसम्ममा १२ वाणिज्य बैंकको नाफा गत आर्थिक वर्षको तुलनामा घटेको छ । नाफा बढाएका बैंकहरूको पनि सामान्यमात्र वृद्धि रहेको अवस्था छ ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा २७ बैंकहरूको नाफा ०।९२ प्रतिशतले घटेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा कोरोनाका कारणले गर्दा अर्थतन्त्र ठप्प भएपछि बैंकहरूको नाफा घटेको हो । चालू आवको तेस्रो त्रैमाससम्ममा बैंकहरूले ४५ अर्ब २४ करोड ७४ लाख रुपैयाँ खुद नाफा गरेका छन् । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब एक प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरूले ४५ अर्ब ६६ करोड ९२ लाख रुपैयाँ खुद नाफा गरेका थिए । यो अवधिमा बैंकहरूको कर्जा तथा ब्याज असुलीमा कमी आउनु तथा खर्च वढेका कारण नाफामा गिरावट आएको बैंकरहरूले बताएका छन् ।

बैंकहरूको यो नाफा आगामी दिनहरूमा अझै घट्ने देखिन्छ । कोरोनाका कारण बैंकहरूले गर्ने व्यवसाय ठप्प भएको छ भने ब्याजदरसमेत घटाउनु पर्ने दबाब बढ्दै गएको छ । गत चैतपछि मात्र बैंकहरूले करिब एक प्रतिशत ब्याजदर घटाइसकेको अवस्था छ । जेठ महिनादेखि बैंकहरूले कर्जाको पनि ब्याज घटाउने निर्णय गरिसकेका छन् । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १२ वाणिज्य बैंकको नाफा घटेको छ भने १५ बैंकको नाफा वढेको छ । नाफा बढाएका बैंकहरूले पनि न्यून मात्रामा वृद्धि गरेका छन् । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा सबैभन्दा धेरै नाफा गरेको नबिल बैंकको नाफासमेत गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ ।

चालू आवको चैतसम्ममा ३ अर्ब १५ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत आवको सोही अवधिमा ३ अर्ब १९ करोड रुपैयाँ खुद नाफा गरेको थियो । त्यसैगरी सरकारी लगानी रहेको राष्ट्रिय वाणिज्य बैंकको पनि करिब ४६ करोडले घटेर ३ अर्ब ३ करोडमा झरेको छ । चालू आवको चैतसम्ममा सबैभन्दा थोरै सिभिल बैंकले ३६ करोड ५ लाख रुपैयाँ मात्र खुद नाफा गरेको छ ।


प्रकाशित | १ जेष्ठ २०७७, बिहीबार १०:५२