अमेरिकाको ह्यारिसनभिलका मेयरको निमन्त्रणमा कागेश्वरीका मेयर कार्कीको अध्ययन भ्रमण, भगिनी सम्बन्ध कायम गर्ने विषयमा छलफल

ह्यारिसनभिल: मिसौरी राज्यमा अवस्थित द सिटी अफ ह्यारिसनभिलका मेयर माईक ज्यारिङको निमन्त्रणामा अमेरिका पुग्नु भएका कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले भ्रमण निकै नै ज्ञानबद्र्धक रहेको बताउनु भएको छ । अमेरिकाको कान्सास सिटीमा रहेको ह्यारिसनभिल निकै नै व्यवस्थित, सुन्दर एवं शान्त नगरपालिका हो ।

यतिबेला सोही नगरपालिकाको भ्रमणमा रहनु भएका कागेश्वरीका मेयर उपेन्द्र कार्कीले त्यहाँबाट आफुले धेरै नै ज्ञानआर्जन गरेको बताउनु भयो । विशेष गरि फोहोर व्यवस्थापन गर्न तथा शारीरीक रुपले फरक क्षमता भएका मानिसहरुलाई रोजगारी प्रदान गर्न भ्रमणले सहयोग पुर्याउने विश्वास व्यक्त गर्नु भयो ।

यसबीच कागेश्वरी मनोहरा नगरपालिका र ह्यारिसनभिल नगर बीच भगिनी सम्बन्ध कायम गरी परस्परमा सहयोग आदानप्रदान अगाडि बढाउने र सांस्कृतिक आदानप्रदान गर्ने बिषयमा सकारात्मफ छलफल समेत अगाडि बढाइएको छ ।

मेयर कार्कीले ह्यारिसनभिल का मेयर माईक ज्यारिङ र नगरपालिकाको टोलीलाई नेपाल भ्रमणको निम्तो समेत दिनु भएको छ । यस अघि मेयर कार्कीले यूरोपका विभिन्न देशहरु तथा जापान र चीनको भ्रमण गरिसक्नु भएको छ ।

 


प्रकाशित | २ मंसिर २०८०, शनिबार १२:३४