मध्यपुर थिमीबासी हर्षोल्लासका सााथ सिन्दुर जात्रा मनाउँदै

भक्तपुर : मध्यपुर थिमी बासी हर्षोल्लासका सिन्दुर खेलेर सिन्धुर जात्रा मनाइरहेका छन् । मध्यपुर थिमीमा बिस्केट जात्राको अवसरमा मनाइने विभिन्न जात्रा मध्ये ३२ वटा खट सहितको सिन्धुर जात्रा मध्यपुर थिमीबासीले मनाइरहेका हुन । यो जात्रा चैत्र मसान्तदेखि सुरु भई बैशाख २ गते विशेष रुपमा मनाइने गरिन्छ ।

थिमीमा २३, नगदेशमा १, बोडमा ७, टिगनीमा १ गरी ३२ वटा खट सहभागि भई परम्परागत रुपमा यहाँका विभिन्न देवी देवताको नेतृत्वमा जात्रा गरिएको हो । थिमीको बालकुमारी, दक्षिणबाराही, विष्णुबीर, सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको निलबाराही मन्दिरका देवताको नेतृत्वमा जात्रा गरि टोलटोलमा सिन्धुरी जात्रा गरी यो जात्रा मनाइएको हो ।

मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराक बाली सिन्धुरे जात्रा मनाइँदै आएको छ । जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्धुर छर्ने, फूल बर्साएर स्वागत गर्ने चलन छ । जात्रामा काँया, बाजा, भुस्या धिमेबाज बजाएर देवताका खटलाई घुमाउँदै एक अर्कालाई सिन्धुर लगाइदिने र आपसमा खुसीयाली मनाउने भएकाले सिन्धुर जात्रा भनीएको पाइन्छ । त्यस्तै, भक्तपुरको कटुञ्जेको सुशिलाभैरव मन्दिर, थिमीको निकोसेर, लोकन्थली, दधिकोटको चित्रपुरमन्दिरलगायत भक्तपुरको टोलटोलमा खट जात्रा मनाइँदै छ ।


प्रकाशित | २ बैशाख २०७६, सोमबार १२:२७