लकडाउनमा ४० अर्बको आयात, सार्क मुलुकसँग अनलाइन कारोबार सुरू

काठमाडौं :  नेपालमा लकडाउनको अवधिमा मात्रै विभिन्न मुलुकबाट ४० अर्ब रुपैयाँभन्दा बढीको अत्यावश्यकीय वस्तु भित्र्याइएको छ । उद्योग, आपूर्ति तथा वाणिज्य मन्त्रालयका अनुसार लकडाउनको अवधि ११ चैतदेखि वैशाख २१ सम्म ४० अर्ब २४ करोड ३२ लाख ९२ हजार रुपैयाँ बराबरको अत्यावश्यकीय वस्तु नेपाल भित्रिएको हो ।

मन्त्रालयका अनुसार नेपालमा लकडाउनमा अति आवश्यकीय वस्तु भारतबाट मात्रै नभएर चीनबाट समेत भित्र्याएको छ । यस अवधिमा नेपाल भित्रिएको अत्यावश्यकीय वस्तुमध्ये चीनको तातोपानी नाकाबाट ४ करोड ६२ लाख ४७ हजार रुपैयाँ बराबरका र अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ करोड ४४ लाख ३९ हजार रुपियाँ बराबरको औषधिको कच्चा पदार्थ र तयारी औषधि भित्रिएको छ ।

बाँकी सबै भारतबाट भित्रिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यस अवधिमा खाद्यान्न, दलहन, गेडागुडी, तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, औषधिको कच्चा पदार्थ, तयारी औषधि, एलपी ग्यास, पेट्रोल, डिजेललगायतका सामान भित्रिएका छन् ।

मन्त्रालयका सहसचिव नवराज ढकालले लकडाउनमा आपूर्तिमा कुनै समस्या नभएको, सबै सामान निर्बाध रूपमा आइरहेको जानकारी दिए । उनले भने, ‘अहिले खाद्यान्नबाहेकका सामान पनि आइरहेको छ । हामीलाई सम्हाल्नै गाह्रो भएको छ । वीरगञ्ज भन्सारको आईसीडी भरिएर कता राख्ने भन्ने समस्या भएको छ । अन्य भन्सारको पनि लगभग यस्तै अवस्था छ ।’ आजको गोरखापत्र दैनिकबाट


प्रकाशित | २६ बैशाख २०७७, शुक्रबार ०९:००