बार्सिलोना आज ला लिगामा गेटाफेसँग भिडदै

काठमाडौ: युरोपियन च्याम्पियन्स लिगमा अन्तिम चारमा इंग्लिस टिम लिभरपुलसँग लज्जास्पद हार व्यहोरेर आउट भएपछि स्पेनिस बार्सिलोनाले पहिलो खेल आज ला लिगामा गेटाफेसँग खेल्दैछ । लिगको ३७औं साताको खेल खेल्न बार्सिलोनाले चौथो स्थानको गेटाफेलाई आफ्नो घरमा स्वागत गर्दैछ ।

बार्सिलोना यसअघि नै लिग च्याम्पियन बनिसकेकाले आज ऊमाथि खास दबाब छैन । यद्यपि, च्याम्पियन्स लिगमा व्यहोरेको हारको पीडामा मल्हम लगाउन बार्सिलोना आज आफ्नो घरमा हुने यो खेल जित्न चाहन्छ ।

तर, आज लिग च्याम्पियन बार्सिलोनाको घरमा उत्रिन लागेको गेटाफे भने यो खेल ‘गर कि मर’ को अवस्थामा खेल्दैछ । किनभने, गेटाफे हाल लिगको चौथो स्थानमा छ । र, यो सिजन शीर्ष चारमा रहेर अर्को सिजन च्याम्पियन्स लिगका लागि छनौट हुन उसले लिगका सबै खेल जित्नुपर्छ । तर, पाँचौं र छैटौं स्थानमा रहेका टिमले अन्तिम २ मध्ये एक–एक खेल हारेको खण्डमा गेटाफेमाथिको दबाब केही कम हुनेछ ।

त्यसका लागि उसले आज बार्सिलोनासँगको खेल जसरी पनि जित्नुपर्ने दबाब छ । यदि आज उसले यो खेल हारेको खण्डमा उसको शीर्ष चारको सम्भावना खतरामा पर्नेछ । तसर्थ, आज क्याम्प नोउमा उत्रिँदा गेटाफे हरहालतमा बार्सिलोनाबाट ३ अंक खोस्ने दाउमा छ । यदि उसले यो खेल र अन्तिम खेल पनि जिते उसको शीर्ष चार पक्का छ ।

हाल लिगमा बार्सिलोना ३६ खेलपछि ८३ अंकसहित शीर्ष स्थानमा छ भने एथ्लेटिको मड्रिड ७४ अंकसहित दोस्रोमा छ । रियल मड्रिड ६८ अंकसहित तेस्रोमा रहँदा गेटाफे ५८ अंकसहित चौथोमा छ । गेटाफे यतिबेला पाँचौं स्थानको भ्यालेन्सियाभन्दा मात्रै ३ अंकले अघि छ । त्यस्तै, छैटौं नम्बरमा रहेको सेभिल्लाको पनि समान ५५ अंक नै छ ।

लिगमा आज जम्मा १० खेल हुनेछन् । बार्सिलोना र गेटाफेबाहेक अन्य ९ खेल पनि आजै राति हुँदैछन् । सबै खेल एकै समय राति १०ः१५ बजेबाट सुरु हुनेछन् ।


प्रकाशित | २९ बैशाख २०७६, आईतवार ११:३६