कविता गुरुङ
नेपाल सरकाले नेपाल भ्रमण वर्ष सफल बनाउन प्रचार प्रसारलाई ब्यापक बनाइरहेको थियो । जतिबेला जनवरी २०२० मा तीन हप्ताको लागि भनेर दुई छोराहरूलाई लिई घर बिदामा नेपाल गएकी थिए। श्रीमान भने कामले गर्दा जान पाउनु भएन। तर पछि दुई हप्ताको लागि आउनुभो । तीन हप्ताको लागि भनेर गएकी म लगभग छ महिना नेपालमा आफ्नो परिवारसँग समय बिताउने मौका पाए। हङकङको अत्यन्तै ब्यस्त जनजीवनमा मलाई २३ औं बसन्त पार गरेको पत्तै भएन । तर यो पटकको बिदाले मेरो जीवनमा अविस्मरणीय क्षण बनाइदियो । आफनो ब्यवसाय, घरायसी कामदेखि बालबच्चा हुर्काउने कामसम्मलाई लिएर दैनीक ४/ ५ घन्टा पनि नसुती बित्ने गरेको मेरो जीवनशैलीमा यो पटक जीवनमै नयाँ अनुभूति भयो । एक दिन राम्ररी बिदामा बस्दा पनि काम गरिरहनु पर्ने मेरो स्वभाव, त्यहीमाथि एकै दिन कती वटा काम सकाउँन कती ठाउँमा पुगिरहेको र त्यसरी नै समय ब्यत्तित भइरहेको मेरो जीवनमा यो पटकको अनुभव पक्कै अविस्मरणीय रह्यो ।
यो पटकको लामो बिदाले आफु र परिवारलाई केही समय दिन पाउँदा खुशी लागेको थियो। पोखरा भित्र र बाहिर मज्जाले घुमियो। ६ महिनाको बसाईमा धेरै राम्रो नराम्रो, तीता मिठा नयाँ अनुभव बटुल्ने मौका पनि पाइयो । र, साथ-साथमा मेरो दुई छोराहरूलाई पनि नेपाली र नेपालको वातावरणको अनुभव गराए। जीबनमा नयाँ नयाँ अनुभव बटुल्ने मेरो रूचीको विषय पनि हो।
नेपालको बसाईमा रहदाँ संसारभरि कोरोना भाइरस (कोभिड -१९ ) को महामारी फैलिइँदै गएको थियो। कोरोना फैलिएसँगै नेपाल सरकारले पनि चैत्र ११ गतेबाट देशभरि लकडाउनको घोषणा गर्यो । शूरुमा सरकारले एक साताको लागि लकडाउन घोषणा गरेको थियो । लकडाउन भएसँगै म लगायत हाम्रो परिवार घरैमा बसेर रमाइलो गर्यौ । कहिले घर सफा गरेर त कहिले खाना पकाएर, कहिले शारिरीक अम्यास गरेर त कहिले घरायसी कुराकानी गरेर । तर लकडाउन लाम्बिदै जाँदा अलि अलि अप्ठ्यारो महसुस पनि हुन थाल्यो । त्यसपछि अब कसरी हङकङ फर्कने होला भनेर सोच्न थाले । म जस्तै नेपालमा रोकिनु भएको अरू हङकङबासी नेपालीहरू पनि हङकङ फर्कने विषयमा सोचीरहनु भएको रहेछ । म जस्तै हङकङबासी नेपालीहरुमध्येमा गैर आवासीय नेपाली संघ (एनआरएनए ) हङकङ अध्यक्ष आदरणीय दिदी राधीका गुरूङ (टिका ) पनि नेपालमा नै अडकिनु भएको थियो। र, प्राय दिदीलाई चिन्नु हुने हङकङबासी नेपालीहरूले सम्पर्क गर्दै हङकङ फर्कनको लागि केहि पहल गरिदिन र सोच विचार गरिदिन आग्रह गर्नुभयो । विस्तारै विस्तारै नेपालमा रोकिनु भएको हङकङबासी नेपालीहरुले टिका दिदीलाई सम्पर्क गर्न थाल्नुभयो । त्यसपछि एनआरएनए हङकङको पहलमा आरएलाई अनुरोध गरेर चार्टर उडान गरि आउने कुरा भयो । सकेसम्म सहज र सुलभ तरीकाले हङकङ फर्कने गरि दिदीले आग्रह गर्नुभयो । तर दिदीले सोचे जस्तो भएन । त्यसपछि हार्वेस्ट मुन ट्राभललाई आग्रह गरि रू ६३००० मा उडाउने कुरा भयो तर त्यो पनि सफल भएन । जुन बेला सामाजिक सञ्जालमा कुरा नबुझिकन कमेन्ट र स्टाट्सहरु पोष्ट गरिएका थिए। तर दिदीले त्यो कुराहरूको वास्ता नगरीकन आफनो बाटोमा लागिरहनु भयो । सामाजिक सञ्जालमा धैरै उतार-चढाव पछि दिदीको आग्रहमा फेरी दोस्रो पटकमा हार्वेस्ट मुन ट्राभलमार्फत जुन १ का दिन दुई वटा चार्टर उडान गराएरै छाड्नुभयो ।
हामी काठमाडौंमा पुग्दा नेपालीहरूको भीड देखियो। सबैजना धैरै खुशी देखिनु भएको थियो । तर दिदीलाई हेर्दा मेरो मनमा धैरै कुराहरू खेल्न थाल्यो र मैले सम्झे दिदीले शुरू गर्नु भएको दिनदेखि ४५ दिनसम्म कति तनाब भयो होला ? कति दिन नखाई, नसुतिकन रात बिताउनु भयो होला ? त्यसमाथि सामाजीक सञ्जालमा पोस्ट गरेका स्टाट्सहरुले कति समस्या बनायो होला ? आदि इत्यादि कुराहरूले म भावुक भए। फेरी सोचे, आज ४५ दिनपछि दिदीको पहल सफल भएको छ भनि खुशी पनि भए। र, दिदीलाई धैरै धैरै धन्यवाद दिए। यसरी नै सफा भावनाले समाजसेवा गर्दै जानुस अवश्य तपाईलाई सबैले साथ दिनेछ।
जुन २ तारिखको बिहान ३ : ३० तिर हङकङको एयरपोर्टमा अवतरण गर्यौ । एयरपोर्टमा अवतरण गरिएसँगै हामीलाई कोभिड -१९ गुप्रले एसिया वल्र्ड एक्स्पोमा कोभिड-१९ परिक्षणको लागि लगियो । परिक्षण गरिसकेपछि हामी सबैलाई Fo Tan को Chun yeung estate मा बिहान ८ बजे पुर्याइयो । सबैलाई फरक फरक कोठामा लगेर राखियो। परिवार हुनेलाई संगै र नहुनेलाई छुटै गरि मिलाएर राखियो । नेपालबाट आउनुभएको ५८२ जना हङकङबासी नेपालीहरुलाई निकै राम्रो सुविधा उपलब्ध गराएर क्वारेन्टाईनमा राखियो । शूरुमा नेपालबाट प्लेनमा आइरहँदा क्वारेन्टाईन कस्तो होला, कसरी बस्ने होला त्यहीमाथि बालबच्चा साथमा छन् भन्ने कुरा मनमा खेलीरहेको थियो । तर क्वारेन्टाईनमा बसेपछि लाग्यो, वास्तावमै हङकङ सरकारले उदाहरणीय र प्रशंसायोग्य काम गरेको रहेछ ।
साथै क्वारेन्टाइनमा बसिरहँदा नेपालमा भएको क्वारेन्टाईन र सुन्नमा आइरहेको समाचार देख्दा दुख लागेर आउँछ । सरकारले चाह्यो भने सुविधासम्पन्न क्वारेन्टाईन बनाउन सक्ने रहेछ । तर नेपालमा सरकारले गर्न नसकेको हो कि गर्न नचाहेको हो भन्ने कुराले मन दुख्ने गर्छ । हामी बसिरहेको क्वारेन्टाईनमा मानीसलाई दैनीक जीवनमा आवश्यक पर्ने सबै सुविधाहरु उपलब्ध गराएको छ । क्वारेन्टाईनमा बसिरहँदा कुनै समस्याको अनुभव नै गर्न नपर्ने गरि सुविधा उपलब्ध गराएको छ । बस्ने, खाने देखि लिएर सरसफाई अत्यन्तै राम्रो छ । क्वारेन्टाईनमा बसेकालाई सहज बनाउनको लागि परिवार वा साथी भएकाहरुले बिहानको १० देखि १२ बजेसम्म र बेलुका ४ बजेदेखि ८ बजेसम्म आफूलाई चाहिएको आवश्यक सामान मगाउन सकिने सुविधा उपलब्ध गराइएको थियो । जे चाहिए पनि हटलाईनमा फोन गरेपछि तुरुन्त सुविधा उपलब्ध गराइएको थियो ।
मैले कोभिड अनुभव लेखिरहँदा आज क्वारेन्टाईनमा बसेको अन्तिम दिनमा आइपुगेको छु । थाहा नपाई १४ दिन बितिसकेको रहेछ । १४ दिन बिताएको यो घरको अनुभव पनि बटुल्नु पाए । र असम्भव भन्ने केही रहेनछ ।। मान्छे माथि परेपछि सबै कुरा टर्दै जादो रहेछ। कसले सोचेको थियो र कोरोनाको महामारी, लकडाउनको पिडा र क्वारेन्टाईनको अनुभव ? र पनि यी पलहरू एक किसिमको रमाइलो, नयाँ अनुभव महसुस गर्न पाउदा धैरै खुसी र भाग्यमानी ठानेकी छु। किनभने यो अनुभवलाई मैले नजिकबाट महसुस गर्न पाए । राम्रा र नाराम्रा दुबै पक्ष थिए। जिवनलाई नजिकबाट चिन्ने मौंका पाए। यो अनुभवलाई पार गरी म आजै घर फर्कर्दैछु ।
अहिले पनि ससारभरिका मानिसहरू डर, त्रास र आपत्तिमा जिवन बिताईरहेका छन । भगवान् सँग मेरो प्राथना छ कि छिटो भन्दा छिटो यो विषम पारिस्थितिबाट सबै जनाले छुटकारा पाउन। र, हामीहरू एक अर्कामा माया बाड्दैै राम्रो सोच राखौं । हामी आसा गरौ, चाँडै संसारबाट कोरोना नियन्त्रणमा आउनेछ र मानीसले कोरोनामाथि विजयी गर्नेछन् । धन्यवाद ।
कविता गुरुङ हङकङ नेपाल ब्यापार संघको उपाध्यक्ष, टमु टोँ ह्युला हङकङको महिला बिभाग अध्यक्ष तथा एनआरएनए हङकङको निवर्तमान कार्यसमिति सदस्य र एक सफल महिला ब्यवसायी समेत हुनुहुन्छ ।
प्रकाशित | १ असार २०७७, सोमबार १६:०५