कोरिया आउँन लागेका नेपालीलाई क्वारेन्टाइनको लागि कम्पनी वा एनआरएनएसँग सम्पर्क गर्न आग्रह

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) कोरियाले हाल कम्पनीले दिएको बिदामा नेपाल जानु हुने र चार्टर फ्लाइटबाट आउने तयारी गर्नु हुनेलाई क्वारेन्टाइनको लागि आफ्नो रोजगारदाता कम्पनीसँग सम्पर्क गर्न आग्रह गरेको छ ।

कोरियामा आउने हरेक विदेशी नागरिक अनीवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने भएकाले कोरिया आउनु अगावै आफ्नो रोजगारदाता कम्पनीलाई सम्पर्क गर्न र कम्पनीले ठाउँ दिन नसके कम्पनीको अनुरोधमा स्थानीय संघसंस्था तथा सरकारले वन्दोवस्त गर्ने भन्दै कम्पनीसँग कुराकानी गर्न असहजीलो भए एनआरएनए कोरियासँग सम्पर्क गर्न आग्रह गरिएकोे हो ।

एनआरएनए कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले कोरियामा हरेक विदेशी नागरिक अनीवार्य रुपमा १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने भएकाले बिदामा नेपाल जानु हुने र चार्टर फ्लाइटबाट आउने तयारी गर्नु हुनेलाई क्वारेन्टाइनको लागि आफ्नो कम्पनीसँग सम्पर्क गर्न आग्रह गर्नुभएको हो । अध्यक्ष सुवेदीले कम्पनीसँग सम्पर्क गर्न असहजीलो भए एनआरएनए कोरियासँग सम्पर्क गर्न समेत अपिल गर्नुभएको छ ।

इपीएस प्रणालीअन्तर्गत कोरिया काम गर्ने अनुमति प्राप्त वैध प्रवेशाज्ञा भिसा भएका हाल बिदामा रही नेपालमा रोकिएका नेपाली कामदारलाई गैर आवासीय नेपाली सङ्घ कोरियाले जहाज चार्टर्ड गरेर लैजान लागेको हो ।

अध्यक्ष सुवेदीका अनुसार पहिलो चरणमा २६० जना नेपाली कामदारलाई यही मे १२ तारिखमा नेपाल एरयालाईन्सबाट ल्याउने तयारी भइरहेको छ ।

मन्त्रिपरिषद्को वैशाख १४ गतेको निर्णयानुसार इपीएस प्रणालीअन्तर्गत कोरिया काम गर्ने अनुमति प्राप्त वैध प्रवेशाज्ञा भिसा भएका हाल बिदामा रहेका नेपाली स्वेच्छाले आफ्नो काममा फर्की जान चाहेमा निजहरुको स्वास्थ्य परीक्षण गराइ उनीहरुकै खर्चमा चार्टर्ड उडानबाट जान स्वीकृति दिने निर्णय गरेको थियो ।


प्रकाशित | २४ बैशाख २०७७, बुधबार १०:१०