साउदीमा ४० प्रतिशत तलब कटौती गर्ने नयाँ नियम, विदेशी कामदार प्रभावित हुन सक्ने

काठमाडौं : साउदी अरबले नीजि क्षेत्रमा कार्यरत श्रमिकको ४० प्रतिशत तलब कटौती गर्न सक्ने गरी नयाँ नियम लागू गर्ने भएको छ । गल्फ न्यूजले जनाएअनुसार कोरोना भाइरसका कारण आर्थिक समस्या  भोगिरहेको उद्योग कलकारखाना र अन्य व्यवसायका हकमा साउदीले ४० प्रतिशत तलब कटौती गर्ने नयाँ नियम ल्याएको हो ।

गल्फ न्यूजका अनुसार सोमबार जारी गरिएको साउदी सरकारको मन्त्रीस्तरीय निर्णयअनुसार कम्पनीहरुले अब ४० प्रतिशत तलब कटौती गर्न सक्ने छन् । यसैगरी कोनोनाका कारण व्यवसाय समस्यामा परेको भएमा कामदार कटौती पनि गर्नसक्ने व्यवस्था साउदी अरबले गरेको छ । यसले साउदी अरबमा कार्यरत विदेशी कामदार प्रभावित हुने छन् ।

साउदीको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले त्यससम्बन्धि निर्णय गरेको प्रतिलिपि आफूसँग सुरक्षित रहेको स्थानीय पत्रिका अल सराक असातले जनाएको छ ।

सो पत्रिकालाई उधृत गर्दै गल्फ न्यूजले लेखेको समाचार अनुसार सो निर्णयमा नीजि कम्पनीले ६ महिनाका लागि आफ्ना कामदारको तलब ४० प्रतिशत कटौती गर्न सक्नेछन् । तर, यसका लागि सम्बन्धित कम्पनीले कोरोना भाइरसले व्यवसाय समस्यामा परेको प्रमाणित भने गर्नुपर्ने समाचारमा जनाइएको छ ।

साउदी अरबको पछिल्लो नियमले त्यहाँ कार्यरत ४ लाख नेपाली पनि प्रभावित हुने देखिएको छ । भएका छन् । कोरोना भाइरसका कारण लकडाउनमा बसेको प्रायः सबै विदेशी कामदारको तलब कटौती हुनेसक्ने गल्फ न्यूजमा उल्लेख गरिएको छ ।


प्रकाशित | २३ बैशाख २०७७, मंगलवार ११:१३