विधी र प्रक्रिया मिचेर बहुमतको दम्भको आधारमा गरिएको विशेष नगरसभा अवैधानीक : मेयर श्रेष्ठ

भक्तपुर : मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले नपामा गरिएको भनीएको बिशेष नगर सभा अवैधानिक भएको बताउनुभएको छ ।  बिधि र प्रक्रिया भन्दा बाहिर गएर बहुमतको दम्भका आधारमा गरिएको बिशेष नगरसभा अवैधानिक भएको मेयर श्रेष्ठको दावी छ । रफत सञ्चार क्लवमा आयोजित कार्यक्रममा बोल्दै मेयर श्रष्ठले भन्नुभयो, ‘बहुमतको दम्भको आधारमा साथीहरुले रहर पूरा गरे पनि यो अवैधानीक हो ।’

४५ जनप्रतिनिधिमध्ये ३५ जनप्रतिनिधिहरुले दुई तिहाईको दम्भ देखाउँदै प्रदेशसभाले ल्याएको कानुन बिपरित बिशेष नगरसभा सम्पन्न गरिएको प्रति आपत्ति जनाउनुभयो । कानुनी संवत नगरसभा स्थगन गरिएको सूचनालाई च्याती उपप्रमुखको अध्यक्षतामा सम्पन्न गरिएको बिशेष नगरसभाले गलत नजिर बसेको मेयर श्रेष्ठको भनाइ छ । उहाँले भन्नुभयो, ‘यसले समग्र नगरको बिकास तथा कानुनी झन्झट थप निम्त्याएको छ ।’

बहुमतको पहुँचमा अन्य जनप्रतिनिधिले प्रमुखको अधिकार भन्दा पनि माथि रहेर आफ्नो काम गर्नु पाउनु पर्छ भन्ने सोचको हावीले समेत जटिल परिस्थिति श्रृजना गरेको श्रेष्ठको भनाई छ । बिभिन्न स्थानमा गरिएका नियुक्तिहरु कानुन अनुसार नै भएको र नगर प्रमुखले आर्थिक हिनामिना गरेको आरोपहरु पुष्टि गरेर देखाउन चुनौती दिर्दै मेयर श्रेष्ठले गलत प्रचारको पछि नलाग्न आग्रह समेत गर्नुभएको छ ।

अवको निकास सहमती र समझदारी बाहेक अरु नभएकाले थिमि नगरपालिकाको बिकासका लागि दलीय स्वार्थ भन्दा माथि उठेर काम गर्नु पने उहाँको भनाइ छ । बुधबार मध्यपुरथिमि नगरपालिकामा जनप्रतिनिधिको विवादका कारण आह्वान गरिएको विशेष नगरसभा विवादित बनेको थियो । विशेष नगरसभा नगर प्रमुख मदनसुन्दर श्रेष्ठले विशेष नगरसभा स्थगन गर्नुभएको थियो । नगरपालिकाका प्रशासकीय अधिकृत महेश बरालले सहमति जुटाउन नसकिएको कारणसहित विज्ञप्ति जारी गर्दै आह्वान गरिएको विशेष नगरसभा स्थगन गरिएको जानकारी गराउनुभएको थियो ।

प्रदेश नं ३ प्रदेशसभाद्वारा जारी भएको नगरसभा सञ्चालन कार्यविधिसम्बन्धी ऐन २०७५ को दफा १९ बमोजिमको परिस्थिति उत्पन्न भई नियमित रुपमा सञ्चालन गर्न बाधा पर्ने भएकाले स्थगन गरिएपछि विवाद उत्पन्न भएको थियो । नगर प्रमुखमा तत्कालीन नेकपा (एमाले) बाट उम्मेदवार भई मदनसुन्दर र वडा नं ५ का वडाध्यक्षमा अमृतमान श्रेष्ठ विजयी हुनुभएको थियो । एक वडाध्यक्ष नेमकिपा, एक वडाध्यक्ष स्वतन्त्र तथा अन्य सबै जनप्रतिनिधि नेपाली काङ्ग्रेसबाट उम्मेदवार भई विजयी हुनुभएको थियो ।

नगरपालिकामा वडाध्यक्षसहित कार्यपालिका सदस्यसमेत दुई तिहाइ बहुमत रहेकाले सोही बहुमतका आधारमा नगर प्रमुखले नगरसभा स्थगन गरे पनि उपप्रमुख अञ्जनादेवी मधिकर्मीले आफ्नै अध्यक्षतामा विशेष नगरसभाको बैठक सञ्चालन गर्दे विभिन्न निर्णय गरिएको थियो । अहिले थिमिको नगरसभा वैधानीक कि अवैधानीक भन्ने बहश चलीरहेको छ ।

 


प्रकाशित | २० असार २०७६, शुक्रबार १८:४५