स्थानीय तहमा जथाभावी खर्च, बन्दाबन्दै भाँचियो ५ करोडको पुल

काठमाडौं : जनप्रतिनिधि चुनिएर आएको पहिलो वर्ष कर्णाली प्रदेशका स्थानीय तहमा चरम आर्थिक अनियमितता भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार कर्णाली प्रदेशका प्रमुख दुर्गाकेशर खनाललाई बुझाएको प्रतिवेदनमा प्रदेश सरकार र स्थानीय तहमा भएका अनियमितताबारे औल्याइएको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिवेदन अनुसार सर्वेक्षण खर्च, सामाजिक सुरक्षा कार्यक्रम, उपभोत्तःा समितिका काम, अनुदान वितरण, मापदण्डलगायतका शीर्षकमा भएका अनियमितता धेरै छन् । बन्दाबन्दै भाँचियो ५ करोडको पुल शीर्षकको अर्को समाचारमा गुल्मीको मुसीकोट नगरपालिका ३ र ७ को सिमाना बडीघाट खोलाको झेदीमा आइतबार बन्दाबन्दै पक्की पुल भाँचिएको छ ।

यो घटनामा ५ जना घाइते भएका छन् । ५८ मिटर लामो पक्की पुल ढलान गर्ने क्रममा भाँचिएको हो । वाईपी जयबुद्ध निर्माण सेवा काठमाडौंले ठेक्का पाएको पुल समयमै नबन्दा पुनः म्याद थपेर बनाउने काम भइरहेको मुसिकोट नगरपालिकाका प्रवक्ता प्रकाश कार्कीले बताउनुुभयो ।

त्यस्तै विमानले रन वे भुलेपछि दुर्घटना, दुई हेलिकोप्टर र सुरक्षाकर्मीलाई ठक्कर दिएको, कोपाइलटसहित ३ जनाको मृत्यु भएको, सामाजिक सुरक्षा कोष बढाउने सरकारको तयारी प्रधानमन्त्रीले सुनाएको, कांग्रेसमा जागरण अभियान चलाउने तयारी शुरु भएको, लाहुरेले डाँडामा पार्क बनाएको लगायतका खबरलाई पत्रिकाले प्राथमिकताका साथ छापेको छ।


प्रकाशित | २ बैशाख २०७६, सोमबार ०८:१९