खुसीको खवर: पछिल्लो २४ घण्टामा १३८२ जनाको कोरोना परीक्षणमा नयाँ संक्रमित भेटिएन

काठमाडौं : कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा १ हजार ३ सय ८२ जनाको नमूना परीक्षण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार दिउसो ४ बजेसम्म नयाँ संक्रमित भेटिएको छैन।

नेपालमा हालसम्म कोरोनाको आशंकामा ६४ हजार ४ सय ८५ जनाको नमूना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। १३ हजार ६ सय ४० जनाको पिसिआर र ५० हजार ८ सय ४५ जनाको आरडिटिबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताउनुभयो ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ५ हजार ८ सय ३७, प्रदेश २ मा ५ हजार ७ सय ३६, बागमतीमा ८ हजार ६ सय १०, गण्डकीमा ५ हजार ८ सय ८२, प्रदेश ५ मा ४ हजार ८ सय ३१, कर्णालीमा ५ हजार ८ सय १३ र सुदूरपश्चिम प्रदेशमा १४ हजार १ सय ३६ जनाको आरडिटिबाट परीक्षण भएको छ।

नेपालमा हालसम्म कुल संक्रमित ७५ जनामध्ये १६ जना उपचारपछि डिस्जार्च भएका छन्। प्रदेश १ मा ३१, प्रदेश २ मा १३, बागमतीमा ७, गण्डकीमा २, प्रदेश ५ मा १७ र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित भेटिएका हुन्। अहिलेसम्म कर्णाली प्रदेशमा भने संक्रमित भेटिएको छैनन्। संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।

कोरोनाको आशंकामा काठमाडौं उपत्यकामा १ र बाहिर १ सय ५ गरी कुल १ सय ६ जना अस्पतालको आइसोलेसनमा भर्ना भएका छन्। मुलुकभर अहिले २१ हजार ५ सय २३ जनालाई क्वारेन्टाइनमा राखिएको मन्त्रालयले जनाएको छ।


प्रकाशित | २२ बैशाख २०७७, सोमबार २१:११