किर्गीस्तानसँग खेल्दै नेपाल

काठमाडौं : इरानमा जारी एएफसी यू-१९ च्यापिम्पयनसिप छनोटको अन्तिम खेलमा नेपालले आज (आइतबार) किर्गीस्तानसँग प्रतिस्पर्धा गर्दैछ । छनोटको सुरुवाती दुई खेलमा पराजय व्यहोर्दै प्रतियोगिताबाट बाहिरिसकेको नेपालले अन्तिम खेलमा किर्गीस्तानसँग खेल्न लागेको हो ।

तेहरानस्थित पीएएस रंगशालामा नेपाल र किर्गीस्तानबीचको खेल नेपाली समय अनुसार साँझ ५ बजे सुरु हुनेछ । किर्गीस्तानविरुद्ध मैदान उत्रदा नेपाल सान्त्वना जितको खोजीमा हुनेछ । तर, बलियो किर्गीस्तानविरुद्ध नेपाललाई जित निकाल्न कठिन भने रहेको छ ।

समूह ‘डी’ मा रहेको नेपालले २ खेलमा अंक जोड्न सकेको छैन । नेपाल समूहको पुछारमा रहेको छ । तर, अन्तिम खेलमा नेपाल कम्तिमा एक अंक जोड्न चाहन्छ । किर्गीस्तान २ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

छनोटमा नेपालले पहिलो खेलमा युएई र दोस्रो खेलमा इरानसँग समान ४(० गोलको हार व्यहोरेको थियो । यस समूहको शीर्ष टिमले फाइनल चरणमा स्थान बनाउने छन् ।


प्रकाशित | २४ कार्तिक २०७६, आईतवार ०९:३३