लकडाउन १० जेठसम्म बढाउने सरकारको तयारी

काठमाडौं : कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले फेरि १५ दिन लकडाउन थप्ने तयारी गरेको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकमा पछिल्लो समय नेपालमा कोरोना संक्रमित बढ्दै गएको र छिमेकी मुलुक भारतमा पनि संक्रमण दर बढिरहेकाले जोखिम कायमै हुँदा लकडाउन थप १५ दिन बढाउनु पर्ने विषयमा छलफल भएको थियो ।

भारतले लकडाउनलाई निरन्तरता दिइरहेका बेला खुला सीमा भएको नेपालमा लकडाउन हटाउँदा स्थिति जुनसुकै बेला पनि भयावह हुनसक्ने भन्दै जेठ १० सम्म बढाउने सहमति भएको स्रोतले जनाएको छ ।

केही मन्त्रीले कोरोना प्रभावित क्षेत्र वर्गीकरण गरी सोही आधारमा लकडाउन खुकुलो गर्नुपर्ने धारणा राखेका छन् । नेपालगञ्जमा संक्रमितको संख्या अचानक बढेपछि सरकार थप सतर्क अवस्थामा पुगेको छ । नेपालमा आइतबारसम्म ७५ जना संक्रमित भएका छन्। जसमा १६ जना उपचारपछि घर फर्किएका छन् । आजको नागरिक दैनीकबाट


प्रकाशित | २२ बैशाख २०७७, सोमबार ०९:४३