जनताको गुनासो सुन्न कागेश्वरी मनोहरा नगरले शूरु गर्‍यो ‘भर्चुअल सार्वजनीक सुनुवाई कार्यक्रम’, अब हरेक महिनाको पहिलो बुधबार हुने (भिडियो रिपोर्ट)

काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिकाले पहिलो पटक भर्चुअल रुपमा सार्वजनिक सुनवाई कार्यक्रमको आयोजना गरेको छ । नगरपालिकामा उपेन्द्र कार्की नेतृत्वमा नयाँ जनप्रतिनिधि आएको एक वर्षपछि भर्चुअल माध्यमबाट नगरबासीको गुनासो सुन्ने उद्देश्यले अन्तरक्रिर्या कार्यक्रमको आयोजना गरिएको हो ।

नगरपालिकाका नगर प्रमुख कार्कीले बुधबार जुम मार्फत भर्चुअल रुपमा प्रथम संस्करणको शुरुवात गर्नु भएको हो । अब सार्वजनिक सुनवाई कार्यक्रम प्रत्येक महिनाको पहिलो बुधबार बिहान साढे सात देखि ९ बजे सम्म नियमीत रुपमा संचालन हुने पनि मेयर कार्कीले जानकारी गराउनुभयो ।

मेयर कार्कीका अनुसार सार्वजनिक सुनवाई कार्यक्रम मार्फत हरेक महिना नगरपालिका, यस अन्तर्गतका शाखा, उपशाखा, नगरपालिका भित्रका नौ वटै वडामा भएका कामहरु, एक वर्षमा भएका प्रयासहरु, भइरहेका विकास निर्माणका कामहरु, नगरपालिकाको समृद्धि र अन्य सरोकारका विषयमा सुझाव संकलन गर्ने उद्देश्यले भर्चुअल अन्तरक्रिर्या कार्यक्रमको प्रारम्भ गरिएको हो ।

पहिलो संस्कार अन्तर्गत बुधबार आयोजना गरिएको भर्चुअल कार्यक्रममा दर्जनभन्दा बढी स्थानीयले आआफनो प्रश्न, जिज्ञासा र गुनासो राख्नु भएको थियो ।

सो बारेमा नगर प्रमुख, सम्बन्धीत शाखा र वडाध्यक्षहरुले आफूसँग सम्बन्धीत प्रश्नको जवाफ दिनु भएको थियो । सो अवसरमा बोल्नुहुँदै नगर प्रमुख कार्कीले कार्यक्रममा उठेका प्रश्न, जिज्ञासा र गुनासोलाई रकेर्डमा राखीएको र सकेजति सबै विषय तत्काल सम्बोधन गर्ने बताउनुभयो ।

भर्चुअल कार्यक्रममा नगर उपप्रमुख शान्ता थापा, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला, नौ वटै वडाका वडाध्यक्षहरु र विभिन्न शाखा प्रमुखरुहरुसहित स्थानीयबासीको बाक्लो सहभागिता थियो । पहिलो संस्करण कार्यक्रम निकै नै उपलब्धीमूलक र प्रभावकारी बनेको थियो ।


प्रकाशित | १० श्रावण २०८०, बुधबार १८:३४