कोरोना विरुद्द अग्रपंक्तिमा काम गर्ने उत्कृष्ट ५ महिलामा नेपालकी डा रुना झा

काठमाडौं : कोरोना भाइरस (कोभिड१९) को नियन्त्रणमा अग्रस्थानमा रहेर काम गर्ने उत्कृष्ट ५ महिलामा नेपालकी डा रुना झा पनि पर्नुभएको छ । संयुक्त राष्ट्रसंघको यूएन वुमेनले कोरोना भाइरस नियन्त्रणका अग्रस्थानमा रहेर काम गरिरहेको ५ महिलाको सूचीमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा झालाई राखेको हो ।

यूएन वुमेनले पाँच जनाको विषयमा लेखेको जानकारीमा प्रयोगशालाकी निर्देशक डा झाको कथा पनि समावेश गरेको छ। युनएन वुमेनले ‘कोभिड रेसपोन्समा फ्रन्टलाइनमा काम गर्ने ५ महिला’ को सूचीमा नेपालकी डा झाको नाम सहितको विवरण उल्लेख गरेको हो।

सो रिपोर्टमा कोभिड १९ को सुरुवात भएसँगै विश्वभरका महिला र केटीहरुको जीवनमा विभिन्न खाले चुनौति आइरहेको समेत उल्लेख गरेको छ। सयौं चुनौतिका बावजुत विश्वभरका लाखौं महिला कोभिड१९को नियन्त्रणका लागि अग्रस्थान रहेर जिम्मेवारी निभाइरहेको भन्दै युएन वुमेनले उनीहरुले गरेको सेवाका लागि धन्यवाद दिएको छ। ती धेरै महिलाले स्वास्थ्यकर्मी र सामाजिक कार्यकर्ताका रुपमा काम गरिरहेका छन्।

कोभिड १९ का पाँच महिलाको कथामा नेपाली रुना झाले कोरोना भाइरस परीक्षणमा नेतृत्वदायी भुमिका निर्वाह गरिरहेको विवरणमा उल्लेख छ।

यूएन वुमेनले भनेको छ, ‘उनी र उनको टीमले दैनिक रुपमा करिब ७० ओटा नमुना परीक्षण गर्ने गर्छन्। दैनिक अनिश्चित संख्यामा नमुना आउने कारण ढिलासम्म ल्यावमा बसेकी छिन्।’

प्राविधिक कामसँगै आफ्ना स्टाफको यातायात र खानेकुराको व्यवस्थापन पनि गर्नुपर्ने जिम्मेवारी उनलाई छ।

फेबुु्रअरीको मध्य तिर चीनको वुहानबाट नेपाल सरकारले १७५ जनाको उद्दार गरी ल्याएपछि उनी र उनका स्टाफको टोलीको व्यवस्ता बढेको छ। आफ्ना सहयोगी टीमको सुरक्षा प्राथमिकतामा भएको डा. रुना बताउनुुहुन्छ ।

डा. रुना वुहानबाट उद्दार गरी क्वारेन्टाइनमा राखिएका १७५ जनाको नमुना रातभरी संकलन गरी भोली पल्ट सबैको रिपोर्ट तयार पारिएको अनुभव सुनाउनुहुन्छ ।

नेपालमा संक्रमितको संख्या बढेपछि उनीको व्यस्तता पनि बढेको छ, भन्नुहुन्छ, ‘यो हाम्रो लागि चुनौतिपूर्ण समय हो। म उनीहरुको मनोबल बढाउने प्रयास गरिरहेको हुन्छ। उनीहरुको सुरक्षा पहिलो प्राथमिकतामा छ भनेर पनि सम्झाइरहेको हुन्छु।’

संक्रमणको जोखिममा परिवारमा नपरोस् भनेर डा. रुना अलग्गै बस्नुहुन्छ । श्रीमान् र छोरीसँग हप्तौँदेखि भेटेकी छैनन्। हप्ताको तीन पटक भेट्न पुग्ने आमाबुवालाई उनले लामो समयदेखि भेट्न पाएकी छैनन्। जागिर र जिम्मेवारीबिच उनले परिवारलाई जोखिमबाट जोगाउने जिम्मेवारी पनि पुरा गर्नुपरेको छ।

डा. रुनाले भन्नुहुन्छ, ‘ म मेरी छोरीलाई भेटेर अगाँल्न चाहन्छु। बुवाआमाको हेरचाह गर्न चाहन्छु तर उहाँ र अरुलाई सुरक्षित राख्न मैले मेरा इच्छासँग सम्झौता गर्नैपर्छ।’

डा रुना बाहेक विश्वका यी चार महिलाले पनि कोभिड१९ को फ्रन्टलाइनमा बसेर जिम्मेवारी निर्वाह गरिरहेका छन्।

को को छन् सूचीमा ?

१. अमल अल महायरा र हदील दाबाइह

अमल अल महायरा र हदील दाबाइह जोर्डनमा रहेका महिला र सिरियाली शरणार्थीका लागि काम गरिरहेका छन्। कोरोना भाइरसको समयमा उनीहरू मोबाइल फोनको भरमा समुदायलाई महत्वपूर्ण जानकारी र अन्य परामर्श दिने गर्छन्। लैङ्गिक हिंसाको सामना गरिरहेका महिलाको लागि २४ घण्टा उपलब्ध हुने हटलाइन सेवा प्रदान गरिएको छ।

२. यान शेङ्लियान

यान शेङ्लियान पेशाले कृषक हुन्। तर यो समय उनी चीनको उत्तरपश्चिमी प्रान्त क्विङहाई प्रान्तको सियारुओयाओ गाउँको चेकप्वाइन्टमा बसेर गाउँ आउने जाने मानिसको तापक्रम नाप्ने काम गरिरहेकी छिन्। उनको यो काम कोरोना भाइरस नियन्त्रणको लागि निकै महत्वपूर्ण छ । स्वयंसेवकको रुपमा अहिले उनी कोरोना भाइरस नियन्त्रणको काम गरेको युनएन वुमेन उल्लेख गरेको छ।

३. दीना स्माइलोवा

काजकस्तानमा क्वारेन्टाइन सुरु हुनुभन्दा पहिले नेमोल्ची ९चुप नबसौँ० अभियानमा जोडिएर काम गरिरहेकी छिन्। सो अभियानले सञ्चालन गरेको हेल्पलाइनमा यौन हिंसाका पीडितलाई सहयोग गर्दै आएको छ। नोमोल्चिले अहिलेसम्म एक सय २० पीडित महिलालाई कानुनी सहयोग गरिसकेको छ।

४. र्‍याएनचिया हेनरी

क्यालिफोर्नियाको एक होटलमा काम गर्ने हेनरी कोरोना भाइरसका कारण होटल बन्द भयो। उनलाई आमाले उनलाई फोन गरेर रुदैँ घर बोलाएकी थिइन्। तर, उनलाई अन्तर्राष्ट्रिय उडान बन्द गरिएकाले घर एन्टिगुआ जान सम्भव भएन र उनी अमेरिकामा एक्लै परिन्। होटल बन्द भएपछि खर्चको चिन्ता थियो। आफ्नो देशमा मानिसहरू विश्वभर फैलिएको यो महामारीमा कसरी सुरक्षित बसेका होलान् भन्ने चिन्ता भयो। यो चिन्ताले उनले कोरोना भाइरस नियन्त्रणको लागि सहयोगी हुने म्यासेज सामाजिक सञ्जालमार्फत सेयर गर्ने सोच आयो। उनले यस्ता सहयोगी म्यासेजहरु सेयर गरेर सहयोग गर्न थालिन्।


प्रकाशित | २१ बैशाख २०७७, आईतवार ०७:४८