बिदा हुुँदै मनसुुन

काठमाडौँ । नेपालमा अब छिट्टै मनसुन पूर्ण रूपमा बहिर्गमन हुने भएको छ । यो पटक मनसुुन बहिर्गमनको सुरुवात पश्चिम नेपालबाट भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी भेगबाट मनसुनको बहिर्गमन सुरु भएको हो । सामान्यतया हरेक वर्ष अङ्गे्रजी पात्रो अनुसार जुन १० बाट नेपालमा मनसुन सुरु हुने गर्छ ।

यस वर्ष पूर्वानुमानित समयमै नेपालमा मनसुन भित्रिएको थियो । विगत केही वर्षको मनसुनी प्रवृत्ति हेर्दा अक्टोबर लागेको केही समयपछि मनसुन बहिर्गमन भइरहेको छ । त्यही प्रवृत्ति दोहोरिँदै यसपालि पनि अक्टोबर महिनाको सुुरुमै मनसुन बहिर्गमन हुन थालेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । यो समाचार आजको गोरखापत्र दैनीकमा प्रकाशित छ ।

उहाँका अनुसार नेपालको सुदूूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश–५ का केही भूभागबाट अक्टोबर १ अर्थात् असोज १५ गते नै मनसुन बाहिरिइसकेको छ । मनसुनले बिदा लिएपछि पश्चिमी वायु सक्रिय हुने क्रमसँगै त्यस क्षेत्रमा आकाश खुल्ने क्रम बढेर वर्षाको क्रम रोकिएको छ ।

बाँकी प्रदेशका भूभागमा भने मनसुन बाहिरिन अब केही समय लाग्ने मौसमविद् कँडेलको भनाइ छ । कँडेलले बङ्गालको खाडीमा बनेको न्यूनचापीय रेखाको असर नेपालको पूर्वी भूभागमा बढी परिरहेको छ । मध्य क्षेत्रमा पनि हल्का प्रभाव छ । यसका कारण मनसुन बाहिरिन सकेको छैन भन्नुभयो । आगामी तीन दिन पूर्वको प्रदेश–१ र २ मा हल्का वर्षा हुनेछ ।


प्रकाशित | १८ आश्विन २०७७, आईतवार १२:४१