केन्यामा १२ नेपाली युवती पक्राउ

मोम्बासा: केन्याको एक बारमा प्रहरीले छापा मारी १२ नेपाली युवतीलाई नियन्त्रणमा लिएको छ । केन्याको दोश्रो ठूलो शहर मोम्बासाको न्याली क्षेत्रमा रहेको रङ्गीला बारमा छापा मारी १२ नेपाली युवतीलाई नियन्त्रणमा लिइएको प्रहरीलाई उद्धृत गर्दै केन्याको द नेशन अखबारले जनाएको छ ।

प्रहरीले निकै लामो अनुसन्धानपछि गैरकानूनी यौन धन्दा तथा मानव तस्करी गर्ने गिरोहलाई लक्षित गरी कारवाही गरेको र कारवाही सफल भएको जनाएको छ । पक्राउ पर्ने नेपाली युवतीहरु तान्जानियासँग सीमा जोडिएको लुङ्गा–लुङ्गा नाकाबाट केन्यातर्फ तस्करी गरिएको प्रहरीको भनाइ छ । तर, उनीहरु मानव तस्करको धन्दामा परेर कसरी नेपालबाट केन्यासम्म आइपुगे भन्ने विषयमा अझै अनुसन्धान बाँकी नै रहेको जनाइएको छ ।

प्रहरीले बारका सञ्चालकलाई पनि नियन्त्रणमा लिएको छ । पक्राउ पर्ने बारका सञ्चालकको क्यानाडाको राहदानी रहेको भएपनि उनी क्यानेडियन नभएको प्रहरीले जनाएको छ । उनले कसरी क्यानाडाको नक्कली राहदानी प्राप्त गरे भन्ने विषयमा अनुसन्धान शुरु गरिएको जनाएको छ । केन्याको प्रहरीले यौन धन्दा तथा मावन तस्कर गिरोहलाई लक्षित गरी आगामी दिनमा अझै बृहत्तरमा कारवाही थालिने जनाएको छ ।


प्रकाशित | २ बैशाख २०७६, सोमबार ०७:२८