बहराइनमा बस्ने नेपालीको बस्ने ठाउँ स्थानान्तरको लागि पहल भइरहेकाले नआत्तिन अपिल

बहराइन : गैर आवासीय नेपाली संघ (एनआरएनए ) बहराइनका अध्यक्ष लक्ष्मी गिरीले बहराइनमा रहनुहुने नेपालीहरुलाई बस्ने ठाउँ स्थानान्तरणको लागि राजदुतावासबाट पहल भइरहेकाले नआत्तिन आग्रह गर्नुभएको छ ।

बहराइनको परराष्ट मन्त्रालयसँग नेपाली राजदूत पदम सुन्दासज्यूले नेपालीहरु हाल बसिररहेको बस्ने ठाउँ स्थानान्तरणको लागि पहल गरिरहनु भएको जानकारी गराउँदै यहाँको मन्त्रालयले क्रमीक रुपमा नेपालीहरुलाई स्थानान्तरण गर्ने भएकाले नआत्तिन सबै बहराइनबासी नेपाली समुदायलाई आग्रह गर्नुभएको हो ।

अध्यक्ष गिरीले राजदूत सुन्दासको अनुरोधलाई यहाँको परराष्ट मन्त्रालयले सकारात्मक रुपमा लिई नेपाली नागरिकहरुको सुरक्षा तथा हित प्रबर्धनमा सहयोग गर्न स्थानको बस्तुस्थिति बुझ्दै ठाउँ सार्न गइरहेकाले सोहीअनुसार तयारी अवस्थामा रहन समेत आग्रह गर्नुभयो ।

अध्यक्ष गिरीका अनुसार नेपाली श्रमीकहरुको लागि नेपाली राजदूतावासले फेब्रुअरि १ तारिखदेखि संक्रमण फैलिए सँगै यहाँको परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालयसँग निरन्तर पहल गर्दै आइरहेको छ ।

केहि दिनयता नेपालीमा कोरोना संक्रमण हुने क्रम बढेपछि राजदूतले थाल्नुभएको पहलप्रति खुसी ब्यक्त गर्दै अध्यक्ष गिरीले नआत्तिन र सरकारी नियम पालना गर्न सबैमा अपिल पनि गर्नुभएको छ ।

अध्यक्ष गिरीले बहराइनको जुन ठाउँमा बसोबास गरिहरनु भए पनि सुरक्षीत भएर बस्न, यहाँको स्वास्थ्य मन्त्रालयले जारी गरेको नियम पूर्ण रुपमा पालना गर्न, बाहिर निस्कनु पर्दा मास्क अनीवार्य लगाउन, सामाजीक दूरी कायम गर्न, हेलचेक्रयाई र लापरवाही नगर्न आग्रह गर्नुभयो ।

एनआरएनए बहराइनले नेपालीहरुलाई मध्यनजर गर्दै कोरोना सम्बन्धी जनचेतना फैलाउने कार्य गरिरहेको बताउँदै अध्यक्ष गिरीले भन्नुभयो,  ‘विशेष गरि राजदूतावाससँग समन्वय गरेर अत्यावश्यक ब्यक्तीलाई राहत वितरण तथा नेपालीलाई यहाँको सरकारको नियमको जानकारी गराउँदै पालना गर्न लगाउने जस्ता कार्यमा समेत विशेष ध्यान दिइरहेका छौ ।

साथै अध्यक्ष गिरीले कोरोना सम्बन्धी सुरक्षा सावधानी अपनाउन र कुनै समस्या परे गैर आवासिय नेपाली संघ, बहराईनलाई सम्पर्क गर्न पनि अपिल गर्नुभएको छ ।

त्यस्तै, अध्यक्ष गिरीले बहराइनमा रहेका धेरै नेपालीहरु स्वदेश फर्कन चाहेको बताउँदै स्वदेश फर्कन चाहाने नेपालीलाई स्वदेश फर्कने ब्यवस्था मिलाइदिन सरकारसँग माग समेत गर्नुभएको छ । अध्यक्ष गिरीका अनुसार नेपालीहरु नेपाल सरकारले ब्यवस्था गर्ने क्वारेन्टाइनमा बस्न तयार रहेको र यदी सरकारले ब्यवस्था गर्न नसके आफै सेल्फ क्वारेन्टाइनमा बस्न पनि तयार रहेको भन्दै स्वदेश फीर्ताको लागि निवेदन दिइरहेका छन् ।

सरकारी तथ्यांकअनुसार करीव ३५ हजार नेपाली रहेको बहराइनमा पछिल्लो समय कोरोना संक्रमीत नेपाली बढिरहेका छन् । पछिल्लो तथ्यांकअनुसार अहिलेसम्म १ सय ५७ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ ।


प्रकाशित | १७ बैशाख २०७७, बुधबार १६:१०