कोरोना महामारी बारे कृष्ण प्रसाद शिवाकोटीको स्वीटजरल्याण्ड अनुभव र सन्देश

कृष्ण प्रसाद शिवाकोटी

विश्वभरि कोरोनाले महामारीको रुप लिएसँगै स्वीटजरल्याण्ड पनि त्यसबाट अछुतो रहन सकेको छैन । यूरोपका इटाली, स्पेन, फान्स जस्तो अवस्था स्वीटजरल्याण्डमा नभए पनि महामारीले यहाँ पनि प्रभावीत बनाएको छ । कोरोनाले अमेरिकामा झनै डरलाग्दो ढंगले महामारीको रुप लिइरहेको देखिन्छ भने अन्य विकसित मुलुकहरु अस्ट्रेलिया, क्यानडाले ठूलो पूँजी खर्च गरेर कोरोना भाइरस विरुद्ध लडिरहेको अवस्था छ । पछिल्लो तथ्यांकअनसार स्वीटजरल्याण्डमा २८ हजार ८ सय ९४ संक्रमीत भएकोमा २१ हजार निको भई घर फर्किसकेका छन् । यहाँ अहिलेसम्म १५९३ जनाको मृत्यु भएको छ । यो तथ्यांकले के संकेत गर्छ भने संक्रमीत मध्य अधिकांश निको भइरहेका छन् । मृत्यु अत्यन्तै न्यून छ । मृतकमध्ये पनि धेरैजसो बृद्धबृद्धा छन् । स्वीटजरल्याण्डले लामो समयदेखि जोगाएर राखेको ८० वर्षभन्दा माथिका बृद्धबृद्धालाई कोरोनाले भने जोगाउन सकेन । हामीले के बुझनुपर्छ भने यहाँको ८० वर्षको उमेर अर्थात रोगसँग लड्ने क्षमता नेपालमा ५५ वर्ष वरावर हो ।

संसारभरि फैलिरहेको कोरोना नियन्त्रण गर्ने भनेको घरभित्रै बस्ने र धेरैभन्दा धेरै जनतामा कोरोना परीक्षण गरेर मात्र सम्भव हुने रहेछ । जस्तो, स्वीटजरल्याण्डले धेरै भन्दा धेरै जनताहरुमा कोरोना परीक्षण गरेर कोरोना संक्रमीत र अन्य जनतालाई सेपरेसन गर्दै कोरोना नियन्त्रणमा ल्याउन सफल भइसकेको छ । स्वीटजरल्याण्डको अनुभवमा भन्नुपर्दा यो नियन्त्रणमा ल्याउने एउटै उपाय सरकारले लकडाउन गरेर सो समयको सदुपयोग गर्दै धेरै भन्दा धेरै जनतामा कोरोना परीक्षण गर्ने नै रहेछ । लकडाउनको समयलाई सरकारले भरपुर उपयोग गर्दै धेरै भन्दा धेरै जनताको कोरोना परीक्षण गरेर संक्रमीतलाई छुट्याउने र अन्य स्वस्थ मान्छेलाई एक ठाउँमा राख्ने हो । स्वीटजरल्याण्डले आफनो स्रोत र साधन तथा प्रविधिले म्याएसम्म प्रयोग गरेर कोरोनाबाट मुक्त नपाए पनि सफलताको दिशामा उन्मूख छ । यद्यपी सरकारी प्रयास अझै जारी छ भने जनस्तरमा पनि त्यत्तीकै मात्रामा सचेतना छ । ठूलो कुरा जनता सचेत बनाएर र जनताले जिउँने स्वस्थ्य जीवनशैलीको कारण कोरोना भाइरस नियन्त्रणमा भर पर्छ । यूरोपको पनि स्वीटजरल्याण्डमा जनताको उच्चस्तरको जीवनशैली छ । जबकी यो रोग फैलने भनेको एक ब्यक्ती अर्को ब्यक्तीमा सम्पर्क गर्नु र सामाजिक दुरी कायम गर्न नसक्नु नै मुख्य कारण हो । जस्तो नियमीत साबुन पानीले हात नधुँदा पनि यो रोग सहजै शरीरमा प्रवेश गर्छ । तर यो कुरा स्वीटजरल्याण्डमा वर्षौ वर्षअघि जनतामा आद्दत नै बसिसकेको छ । यी कुरा भनेको सामान्य हुन । तर दुखको कुरा हाम्रो नेपालमा आज नियमीत मिचीमिची साबुन पानीले हात धुने कुरा पनि सिकाउनुपर्ने अवस्था छ । नियमीत हात नधुँदा धेरै खालका रोग लाग्न सक्छन् । कोरोना त परको विषय हो । अको कुरा, नेपालमा लकडाउन उल्लंघनका घटना धेरै भएको पाइन्छ । लकडाउन उल्लंघन गर्दा प्रहरीले लाडी चार्ज गर्नुपरेको छ । तर यहाँका जनताहरु यती सचेत छन् कि प्रहरीले नेपालमा जस्तो लाठी चार्ज गरेर लकडाउन गर्नुपर्दैन । यसको बारेमा जनताहरु आफै सचेत रहेको पाइन्छ । अर्को कुरा कसैले यसको उल्लंघन गरिहालेमा पनि उक्त व्यक्तीलाई कारबाही भन्दापनि प्रहरीले सामाजिक दुरी कायम गर्दै संवादका तर्फबाट यो रोगसम्बन्धी जनचेतना दिने काम गर्छन र घरमा गएर बसीदिनुहुन अनुरोध गर्छन। यती गर्दापनि कसैले अटेर गरे मात्र कारबाही स्वरुप १ ब्यक्ती बराबर १०० स्वीस फ्राँङक पैसा तिराइन्छ।

नेपालमा पछिल्लो तथ्यांक अनुसार कोरोना सक्रमीतको संख्या चार दर्जन नाघेको देखिन्छ भने झन्डै ५० हजार कोरोना शंकास्पद ब्यक्तीहरुको कोरोना परीक्षण गरिएको पाइएको छ । लकडाउन गरेको समय एक महिना नाघेको अवस्था छ । यो एक महिनाको अवधिमा पचास हजार पनि पुगनपुग मानीसहरुको कोरोना परीक्षण गरेर जतिसुकै लकडाउन बढाए पनि खासै त्यसले अर्थ राख्छ जस्तो लाग्दैन । किनकी यहाँको सरकारले त्यहाँ महिना दिनमा गरेको कोरोना परीक्षण दुई दिनमा गर्दा त कोरोना नियन्त्रणमा ल्याउन कठिन भइरहेको छ भने नेपालमा सुस्त गतीमा गरिएको कोरोना परीक्षणबाट ढुक्क भएर बस्ने अवस्था छैन । लकडाउन हुँदा मानीसहरु घरभित्रै सुरक्षीत बस्ने हुनाले कोरोना नफैलने भएपनि नेपालमा जनसंख्याको १ प्रतिशतमा कोरोना परीक्षण गर्न पनि यो गतीले तीन महिना लाग्ने देखिन्छ । अनी कुल जनसंख्याको १ प्रतिशतलाई पनि कोरोना परीक्षण नगरि लकडाउनमा बस्दा मात्र कोरोना नियन्त्रणमा आएको मान्न सकिन्न । हो, यहाँको सरकारले जनताको हरेक कुराको ग्यारेन्टी लिएको छ । तर नेपालमा एक महिना बित्तिसक्दा पनि ती एक छाक टार्न धौ धौ हुने निम्न मध्यम परिवारहरुलाई खानाको समस्या देखिसकेको छ । एक महिनाको अवधिमा त खानाको समस्या देखिसकेको छ भने अझै तीन महिना लकडाउन गरिरहने हो भने सरकारले कसरी कोरोना नियन्त्रण गर्न सक्ला ? त्यसैले तत्काल निम्न मध्यम परिवारहरुलाई खानाको व्यबस्था मिलाएर थप एक महिना लकडाउन लब्याएर भए पनि कम्तिमा १ प्रतिशत जनसंख्यामा कोरोना परीक्षण नगरेम्म घरबाट बाहिर ढुक्क भएर निस्कने अवस्था देखिन्न । किनकी कोरोना संक्रमणको खतरा पछि सम्म रहीरहने देखिएको छ ।

सवाल नेपालको मात्र रहेन विदेशमा रहेका ८० लाख नेपालीको कुरा पनि छ । सरकारले आज देशभित्रै रहेका नागरिकलाई राम्ररी ब्यवस्थापन गर्न सकिरहेको छैन भने विशेष गरि भोलीका दिनमा मध्यपूर्वमा रहेका झन्डै २० लाख नेपाली नेपाल फीर्ता हुँदाको बखत कसरी ब्यवस्था गर्ला सक्ला ? अर्को कुरा, नेपालमा कोरोना संक्रमण फैलिरहँदा नेपाल सरकारदेखि मिडियासम्मले विदेशमा बस्ने नेपालीलाई गलत नजरले हेर्ने, नकारात्मक भावनाको विकास गराउने जस्ता गलत प्रवृत्तिको विकास गरिएको र भ्रामीक कीसिमका खबरहरु फैलाईरहेको पाइन्छ । त्यो कदापी मुलुक र जनताको लागि राम्रो पक्ष होइन । किनकी विदेशमा हुँदैमा कोरोना संक्रमीत भइहाल्ने र विदेशबाट फर्कने ब्यक्तीले मात्र कोरोना लीएर आउछ भन्ने गलत प्रचार हो । विदशमा रहेका नेपाली बरु सुरक्षीत होलान नेपालमा बसिरहेका नेपाली नागरिक जो यो लकडाउनको उलङ्घन गर्दै जनप्रतीनिधिकै संरक्षणमा बस तथा अन्य सवारिसाधन मार्फत सामाजिक दुरीको व्यवास्था गर्दै गाउँघर भित्रिने अवस्था तुरुन्त बन्द नगरीए खतरा बढी छ भन्ने कुरा सरकारले बुझनु जरुरी छ । भोलीका दिनमा समेत समाजमा विभाजन ल्याउने, पारिवारिक विभाजन ल्याउने खालका प्रचारले मनोसामाजीक क्षेत्रमा गलत असर पर्न सक्छ । मानौ भोलीका दिनमा कोरोना नियन्त्रणमा आएसकेपछि नेपाल फर्कदा पनि हामीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआउन सक्छ । भोलीका दिनमा विदेशबाट आएको ब्यक्तीमा कोरोना हुन्छ, कोरोना सार्छ जस्ता मनोसामाजीक असरप्रति पनि सरकार र सबै सरोकारवाला निकायले ध्यान दिनुपर्छ ।

नेपालमा अहिले लकडाउन जारी रहेको अवस्थामा कुनै अत्यावश्यक सामान तथा खाद्यान्न लगायत तरकारी किन्नको लागि सरकारले बेलुकाको समय छुट्याएको सुनिएको छ । दिनमा केहि घन्टामात्र सर्वसाधारणलाई खाद्यान्न, तरकारी किन्न सुपरमार्केट, भाटभटेनी खुल्नुले लकडाउन गर्नु र नगर्नु एउटै हो भन्ने कुरा बुझनु पर्छ । किनकी निश्चित समय मात्र छुट्याउँदा मानीसहरुको भिड हुन्छ। लकडाउनको मुख्य उदेश्य भनेकै सामाजिक दुरि कायम गराउने भन्ने हो, जबकी खाध्यान्न जस्तो अत्यावस्यक कुरा किन्नको लागि निस्चित समय मात्र छुट्याउँदा त्यो समयमा सबैजना किनमेल गर्न निस्कनै पर्ने वाध्यता हुन्छ र पसलहरुमा भिड लाग्छ अनि त्यो बेला प्रहरीले चाहेर पनि सामाजीक दुरी कायम गर्न सक्दैन । अनी धेरै भन्दा धेरै मानीसहरु खाद्यान्न किन्नको लागि लाग्ने भिडले कोरोना फैलनेतर्फ सरकारले ध्यान दिनुपर्ने देखिन्छ । यहाँको अनुभव शेयर गर्नुपर्दा स्वीटजरल्याण्डमा सरकारले १२ देखि १४ घन्टासम्म अत्यावश्यक सामान तथा खाद्यान्न लगायत तरकारी किन्नको लागी सुपरमार्केट खुला गरेको छ । मानीसहरुले आफूलाई अनुकुल परेको बेलामा सामाजीक दूरी कायम गरेर सामानहरु खरिद गर्छन । त्यसैले नेपालमा पनि बरु मास्क अनीवार्य गर्दै सामाजीक दुरी कायम गर्न लगाएर अत्यावश्यक खाद्यान्न तथा तरकारी खरिदविक्री गर्ने समय बढाउनुपर्ने देखिन्छ । यसतर्फ सम्बन्धीत निकायले ध्यान दिनुपर्ने देखिन्छ ।

कोरोनाले विश्वब्यापी महामारीको रुप लिइरहेको यो बेलामा नेपालमा स्वास्थ्यकर्मी, चिकित्सकलगायतलाई प्रयाप्त मात्रामा पिपिई नभएको खवरहरु पनि सुन्नमा आएको छ । म आफै स्वीटजरल्याण्डमा कार्यरत एक स्वास्थ्यकर्मीको नाताले कोरोनाको कारण डराएर भाग्नु र साधारण विरामि परेका विरामीको उपचार गर्न नमान्नु स्वास्थ्यकर्मीको लागि सुहाउने कुरा होइन । कोरोनाको कारण डराएर डाक्टर, नर्सहरुले उपचार नगर्दा नेपालमा अहिलेसम्म कोरोनाको कारण कसैको मृत्यु नभइरहेको अवस्थामा अन्य सामान्य विरामीहरु पनि अनाहकमा मर्नु पर्ने अवस्था आउँन सक्छ । त्यसैले यहाँको अनुभव शेयर गर्दै नेपालका स्वास्थ्यकर्मीहरुलाई भन्न चाहान्छु, हो कोरोनाको कारण अहिले सबै सुरक्षीत हुनुपर्छ, डराउनुपर्छ तर त्यसो भन्दैमा स्वास्थ्यकर्मीले आफनो कर्तब्य नै भुल्ने कुरा आउँदैन नी । तर सामाजीक दूरी कायम गरेर कम्तिमा ३ मिटरको दुरीमा रहेर पनि बिरामीको उपचार गर्न सकिन्छ भन्ने कुरा हामीले बिर्सन हुँदैन । एक अध्ययनले भनेको छ, स्वास्थ्यकर्मीको लागि पीपीई ८० प्रतिशत सुरक्षीत छ भने सामाजीक दूरी कायम गर्दा शत प्रतिशत सुरक्षीत हुन सकिन्छ । त्यसैले कोरोनाको कारण लकडाउनमा परिरहेको सर्वसाधारण जनताहरु अन्य सामान्य रोग लाग्दा पनि उपचार नपाएर जटिल अवस्था आउँने र मृत्यु हुने खतरातर्फ स्वास्थ्यकर्मी सजग हुनैपर्छ । सामाजीक सञ्जाल र समाचारहरुलाई आधार मान्दा नेपालको धेरै स्वास्थ्यकर्मीले अन्य बिरामीको उपचार गर्न नमानेको, भागेको र डराएको भन्ने कुरा आइरहेको छ । कृपया नेपालमा कोरोनाको नाममा अन्य विरामीलाई जोखिममा पार्ने काम नगरिदिनुहोला, सामाजीक दूरी कायम गरेर भए पनि नागरिकको सेवामा जुट्न तपाई हाम्रो कर्तब्य भएको कुरा नभुलीदिनु हुन अनुरोध गर्न चाहान्छु ।

नेपालमा कोरोना संक्रमीत देखिएसँगै काठमाडौं उपत्यकाबाट लाखौ संख्यामा मानीसहरु गाउँमा गएका छन् । यतिखेर गाउँघर पूरै भरिभराउ देखिन्छ । तर गाउँमा पुगेपछि दसै तिहार जस्तो गरि हुलका हुल मान्छेहरु जम्मा हुने, रमाइलो गर्ने, घुम्न हिडेको कुरा सामाजीक सञ्जालमा देखिएको छ । यो कोरोना नियन्त्रणको लागि भन्दा कतै हामीले जानी नजानी कोरोना फैलाउने कार्य पो गरिरहेका छैनौ भन्ने तर्फ सोच्नुपर्ने देखिन्छ । यो बेला गाउँघरमा अझ बढी सुरक्षा सतर्कता अपनाउनुपने देखिएको छ । भारत र काठमाडौंबाट गाउँ गएर धेरैभन्दा धेरैसँग सम्पर्क गरिरहँदा यदी कुनै एक ब्यक्तीलाई मात्र कोरोना लागेको रहेछ भने त्यसले पूरै गाउँभरि नै महामारी फैलन्छ । त्यसैले गाउँमा रहनुहुने आमा बुबा, दाजुभाई दिदी बहिनीहरुमा के आग्रह गर्न चाहान्छु भने कृपया यो कुनै दसै, तिहार अन्य कुनै चार्डपर्वको समय होइन । यो विपत्तिको समय हो । यो विपत्तिलाई विपत्तिकै समयमा सामाना गर्नुपर्छ भन्ने कुरा मनमा लिइदिनुहोला । ज्यान रहे मात्र संस्कार, चार्डपर्व अझ भनौ धर्म, संस्कृति रहने हो । यदी ज्यानै रहेन भने केहि पनि रहँदैन भन्ने कुरा तपाईले बिर्सनु हुँदैन । अर्को कुरा गाँउघरमा यतिखेर देवालीलगायत विभिन्न चार्डपर्व मनाउन सयौ मानीसहरु भेला भइरहेको र भेला हुने तयारी भइरहेको पनि सुन्नमा आएको छ। यदी त्यस्तो हो भने कृपया सयौ मानीस भेला हुने गरि त्यसरी चार्डपर्व नमनाउन सबैमा अनुरोध गर्न चाहान्छु । किनकी तपाईको सानो गल्तीले भोली गाउँभरि महामारी फैलन सक्छ । यदी गाउँमा महामारी फैलियो भने हाम्रो स्रोत र साधनले हामीलाई थान्न सक्दैन । सामान्य बिरामी हुँदा त भनेको बेलामा एम्बुलेन्स पाइदैन भने भोलीका दिनमा यो रोग फैलियो भने हाम्रो सामान्य गल्ती, लापरवाही र हेलचेक्रयाईको कारण हामी धेरैले हाम्रा अभिभावक दाजुभाइ दिदिबहिनि र आफ्नै पनि ज्यान गुमाउनु पर्ने हुनसक्छ। त्यसैले सकभर यो बेलामा गाउँमा बसिररहनु भएको छ भने पनि एक परिवारबाट अर्को परिवारमा नगइदिनुहुन, गए पनि सामाजीक दुरी कम्तिमा तीन मिटर टाढै बसेर कुरा गर्ने वा काम गरिदिन हुन अनुरोध गर्न चाहान्छु । यतिखेर हामीले गाउँघरमा हलो जोत्दा, कुटो कोदालो समात्दा अरुले प्रयोग गरेको छ भने अली बढी सावधानी अपनाइदिनु होला । विशेष गरि अन्य ब्यक्तीले छोएको ठाउँ जस्तो ढोकाको ह्यान्डल वा चीयापसलको टेबल छोएमा साबुन पानीले हात धुने कुरामा कदापी पनि अल्छी नगर्नुहोला । यदी तपाईले हातले कुनै ठाउँमा छुँदा मुख, नाक, ओठ र आखामा मात्र हातले छुनु भयो भने कोरोना संक्रमण फैलन सक्छ । सकभर छिनछिनमा साबुन पानीले हात धोइरहने र हातलाई मुख, नाक, आँखा र ओठ जस्ता ठाउँमा नकोट्याउन र टर्च नगरिदिनु हुन समेत सबैमा हार्दिक अनुरोध गर्न चाहान्छु ।

नेपालका मन्त्रीदेखि नेतासम्मले मास्क नलगाई सामाजिक दुरि कायम नगरी खुलमखुल्ला हिडेको र अन्तर्वार्ता दिएको देख्दा निकै दुख लाग्छ । किनकी यहाँको सरकारी निकायका उच्च पदाधिकारीदेखि सबैले उच्च सतर्ककता अपनाएर उदाहरण प्रस्तुत गर्दा त कोरोनाबाट पूर्ण रुपमा मुक्त हुन सकिरहेको छैन भने नेपालमा बढेको लापरवाही र हेलचेक्रयाईले नेपालको स्वास्थ्य क्षेत्रको अस्तित्व जोगाउन निकै कठिन हुनेछ । अर्को कुरा, ठूला मान्छेहरुले समेत मास्क नै नलगाई हिड्दा र सामाजिक दुरी काएम नराख्दा त्यसले कस्तो सन्देश जान्छ भन्ने कुरा पनि भुल्न हुँदैन । त्यसैले तत्कालको लागि नेपाल सरकारले लकडाउन बढाएर जनताहरु कसैलाई पनि भोक भोकै बस्न नदिई कोरोना परीक्षणलाई ब्यापक बनाउनुपर्छ । सिमित स्रोत र साधन भए पनि कम्तिमा विदेशबाट पाठ सिक्ने विषयमा नेपालले गम्भिर हुनैपर्छ । अन्तमा सबैलाई आआफनो ठाउँमा सुरक्षीत भएर बस्न आग्रह गर्दै कृपया कोरोनालाई सामान्य ठानेर हेलचेक्रयाई नगरिदिनुहुन विनम्र अनुरोध गर्दछु । धन्यवाद ।

लेखक गैर आवासीय नेपाली संघ (एनआरएनए ) स्वीटजरल्याण्डको महासचिव हुनुहन्छ ।


प्रकाशित | १४ बैशाख २०७७, आईतवार ०१:२४