एनआरएनए स्वीटजरल्याण्डको महासचिवमा कृष्ण प्रसाद शिवाकोटीको पुन: उम्मेदवारी

स्वीटजरल्याण्ड । गैर आवासीय नेपाली संघ (एनआरएनए) स्वीटजरल्याण्डको महासचिवमा कृष्ण प्रसाद शिवाकोटीले पुन: उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । आगामी जुलाई ११ मा हुन लागेको एनआरएनए स्वीटजरल्याण्डको सातौँ राष्ट्रिय महाधिबेशनमा (२०२१-२०२३) कार्यकालका लागि शिवाकोटीले पुन: महासचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको हो ।

शिवाकोटी यसअघि सन् (२०१७-०१९) मा कार्यसमिति सदस्य पदमा मनोनीत हुनु भएको थियो भने अहिले महासचिव पदमा कार्यरत हुनुहुन्छ । शिवाकोटीले संस्थामा लामो समयदेखि काम गर्दै आउनु भएका अग्रजहरुलाई सम्मान गर्दै आफू पुन: महासचिवमा दोहोर्याउने निर्णयमा पुगेको बताउनु भयो ।

शिवोकोटीले स्वीटजरल्याण्डमा नेपालीहरु विभाजीत भएकाले समाजलाई एकजुट बनाउँदै गैर आवासीय नेपालीहरुलाई समेटेर सबैको साझा संस्था बनाउनु आफ्नो पहिलो प्राथमिकता रहेको बताउनु भयो । साथै उहाँले अग्रजहरुको अनुभवलाई समेटेर अगाडि बढ्ने योजना पनि सुनाउनु भयो । त्यस्तै, दोस्रो पुस्तालाई एनआरनए अभियानमा सहभागि गराउने र नेपाली राजदूतावास जेनेभासँग समन्वय गरेर अगाडि बढ्ने पनि आफना प्रतिबद्धताहरु रहेको बताउनु भयो ।

नेपालको दोलखा कालिञ्चोक गाउँपालीका सुनखानीमा जन्मनु भएको शिवाकोटी सन् २०१४ देखि स्वीटजरल्याण्ड बस्दै आउनु भएको छ । नेपालमा समेत विभिन्न क्षेत्रमा लगानी गर्दै आउनु भएको शिवाकोटीको काठमाडौंमा क्याफे, पोखरामा होटल ब्यवसाय छ । साथै दोलखामा १ करोड भन्दा बढी लगानीमा कालीज टर्की र बाख्रा फार्म सञ्चालन गर्नु भएको छ । साथै हिमालयन वर्थ क्वीक प्रिपिरेसन सेन्टरको डाईरेक्टर समेत हुनुहुन्छ ।

शिवाकोटी नेपालमा प्राकृति विपत्तीमा जहिल्यै सहयोगी बन्दै आउनु भएको छ । जस्तो २०७२ सालको भूकम्प आएसँगै जागिर छाडेर ३ महिना भोलेन्टियर काम गरेर दोलखा बसेको शिवाकोटी सम्झनुहुन्छ । उक्त समयमा त्यहाँको समाजमा परेको दुख देखेर आफ्नै ब्यक्तिगत तर्फबाट २०७३ सालमा दोलखाका ५५ परीवारलाई घरको छानो लगाउन २० लाख रुपैया आर्थिक सहयोग गर्नु भएको थियो ।

उक्त कार्यक्रम मार्फत ११७ जना गरिब तथा जेहेन्दार छात्र छात्राहरुलाई १ लाख १७ हजार छात्राबृत्ति उपलब्ध गराउनु भएको थियो । २०७३ साल देखि हाल सम्म दोलखा जिल्लाका बिभिन्न विद्यालयमा अध्ययनरत १५ जना विध्यार्थीहरुलाई जनही १० देखी २० हजारका दरले बार्षीक २ लाख रुपैया छात्राबृत्ति उपलब्ध गराउँदै आउनु भएको छ ।

त्यस्तै, गाउँघरमा बढ्दै गईरहेको प्लास्टीकको समस्यालाई केहि कम गराउने उदेश्यका साथ २०७५ सालमा कालिन्चोक गाउँपालिका वडा नं ९ मा वडा अध्यक्ष राम प्रसाद मैनाली संग समन्वय गरी  हिमालयन वर्थ क्वीक प्रिपिरेसन सेन्टरमार्फत १ लाख ५० हजार को लागतमा २५ वटा फलामे फोहोर फाल्ने भाँडा (ट्य्रासक्यान) सहयोग गर्नु भएको थियो ।

त्यस्तैगरि, २०७६ सालमा एनआरएनए स्विट्जरल्याण्डको १ लाख २० हजारको लगानीमा कालिन्चोक गाउँपालिका वडा नं १ मा कुरी बजार देखी कालिन्चोक मन्दिर सम्म २० वटा फलामे फोहोर फाल्ने भाँडा (ट्य्रासक्यान) राखी त्यसको ब्यवस्थापन गर्न सहयोग गर्नु भएको थियो । साथै एनआरएनए स्वीटजरल्याण्डमार्फत २०७७ सालमा भएको तराईको डुवानको समयमा ५ लाख रुपैया आर्थिक सहयोग भएको थियो भने वर्तमान कोरोना महामारीको दोस्रो लहमार कोरोना रोकथामको लागी ८ लाख रुपैया आर्थीक सहयोग गरिएको थियो ।


प्रकाशित | ७ असार २०७८, सोमबार १५:३३