नेपालमा थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४५ पुग्यो

काठमाडौं : नेपालमा थप ३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । आज बुधबार नेपालमा थप तीन जनामा कोरोना संक्रमण देखिएको हो ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणमा तीनै जनामा कोरोना सक्रमण देखिएको हो।

मन्त्रालयका अनुसार यी व्यक्तिहरुसँगै रहेका १३ जनालाई अघिल्लो हप्ता नै कोरोना पोजेटिभ देखिएको छ। उनीहरुको उपचार भइरहेको छ। संक्रमित तीन जना नै उदयपुरको त्रियुगा नगरपालिका भुल्केका व्यक्तिहरु हुन्। यो संगै उदयपुरमा संक्रमित हुनेको संख्या २७ पुगेको छ भने नेपालमा कुल संक्रमितको संख्या ४५ पुगेको छ।

मन्त्रालयका अनुसार कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ३६ जनाको नमूना परीक्षण भएको छ। हालसम्म कोरोनाको आशंकामा परीक्षण हुनेको संख्या ४० हजार ४ सय ३१ पुगेको छ। पिसिआरबाट ९ हजार ११ र आरडिटीबाट ३१ ह्जार ४ सय २० जनाको नमूना परीक्षण भएको हो।

३५ संक्रमित हाल विभिन्न अस्पतालमा उपचाररत छन्। पाटन अस्पतालमा २, बागलुङ अस्पतालमा १, भरतपुर अस्पतालमा २, धनगढीमा २, विरगञ्जमा ४ र विराटनगरमा २४ जना संक्रमितको उपचार भइरहेको छ। उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले जानकारी गराउनुभयो ।

सबै जिल्लामा आरटिडी परिक्षण सुरु गरेको मन्त्रालयले प्रदेश १ मा ३ हजार ९७, प्रदेश २ मा ३ हजार ९ सय २५, वागमतिमा ५ हजार ९ सय १५, गण्डकीमा ४ हजार २ सय ७२, प्रदेश ५ मा २ हजार ५ सय ९६, कर्णालीमा ४ हजार ३ सय ८ र सुदुरपश्चिम प्रदेशमा ७ हजार ३ सय ७ जनाको नमूना परीक्षण गरेको छ।

हाल काठमाडौं उपत्यकामा ३ र बाहिर ९२ गरी जम्मा ९५ जना आइसोलेसनमा छन्। ८ हजार ५ सय ९५ जनालाइ क्वारेन्टाइनमा राखिएको मन्त्रालयले जनाएको छ ।


प्रकाशित | १० बैशाख २०७७, बुधबार १७:१५