डेनमार्कमा ५५ जना विद्यार्थीलाई एनआरएनएको राहत, थप २५ जनाले पनि भरे फाराम

कोपनहेगन (डेनमार्क ) : गैर आवासीय नेपाली संघ (एनआरएनए ) डेनमार्कले समस्यामा परेका ५५ जना विद्यार्थीलाई राहत वितरण गरेको छ । पहिलो चरणमा ५५ जनालाई राहत वितरण गरेको डेनमार्कले समस्यामा परेका विद्यार्थीलाई अनलाइन फाराम भर्न अनुरोध गर्दै तथ्यांक संकलन गर्ने कार्य गरेको थियो । आज अन्तिम दिनसम्म समस्यामा परेका थप २५ जना विद्यार्थीले राहतको लागि अनलाइन फाराम भरेका हुन ।

एनआरएनए डेनमार्कका अध्यक्ष रवीन्द्र खडकाका अनुसार पहिलो चरणमा राहत वितरण गरेलगत्तै विद्यार्थीलाई लक्षित गर्दै समस्यामा परेका विद्यार्थीलाई अनलाइन फाराम आह्वान गरेकोमा थप २५ जनाले भरेको र उहाँहरुलाई चाँडै घरघरमै पुर्याएर राहत वितरण गरिने जानकारी गराउनुभयो ।

अध्यक्ष खडका अनुसार डेनमार्कले विभिन्न संघसंस्थाको संयुक्त पहलमा राहत वितरण गरेको हो । राहत अन्तर्गत अत्यावश्यक सामानहरु चाहाल, दाल नुन, तेललगायत विभिन्न आइटम समेटीएको छ । जुन राहतले प्रती विद्यार्थी वरावर लगभग डेढ महिना पुग्नेगरि वितरण गरिएको हो ।

एनआरएनएले विभिन्न ब्यक्तीहरुको सहयोगमा संकलीन रकमबाट विद्यार्थीहरुलाई राहत वितरण गर्न सफल भएको हो । राहत वितरणबाट बाँकि रकम भने एनआरएनएको आपत्तकालीन कोषमा राखिनेछ ।

पछिल्लो तथ्यांकअनुसार डेनमार्कमा अनुमानीत ६ हजार ५ सयको हाराहारीमा नेपाली र ५ सयको हाराहारीमा विद्यार्थी रहेको पाइन्छ ।


प्रकाशित | ९ बैशाख २०७७, मंगलवार २३:५९