लगानीकर्ताको रोजाइ ‘लुम्बिनी क्षेत्र’

मनोरञ्जन शर्मा /रुपन्देही

करिब ४ दशकअघि सुदूरपूर्व झापामा उद्योग व्यवसाय गर्दागर्दै एक्कासि प्रेमबहादुर श्रेष्ठले पश्चिम नेपालको रुपन्देहीमा व्यवसाय सञ्चालन गर्ने निर्णय गर्नुभयो । पूर्वमा हुँदै आएको श्रेष्ठको लगानी पश्चिममा सर्यो । पञ्चकन्या समूहका संस्थापक तथा अध्यक्ष रहेका श्रेष्ठले त्यतिबेला पश्चिम नेपालको महत्वलाई बुझेर गरेको दूरदर्शी निर्णय वास्तवमै केही सोचेर गरेको हुनुपर्छ ।

जुन अहिलेको समयमा निकै सान्दर्भिक बनिरहेको छ लगानीकर्ताहरूलाई । २०३८ सालमा रूपन्देहीको कोटिहवामा आएर पञ्चकन्या गु्रपको स्थापना गरी उद्योग व्यवसाय सुरु गरेपछि अहिलेसम्म पछि फर्केर हेर्नु परेको छैन श्रेष्ठ परिवारलाई । श्रेष्ठले अन्य कुनै कुराले रूपन्देहीलाई रोजेका भने होइनन् । उहाँले यो ठाउँको महत्वलाई बुझेर स्थान चयन गर्नुभएको थियो। जुन अहिले सही सावित भएको छ ।
“नेपालको मध्यक्षेत्रमा अवस्थित हुनु, यहाँ उद्योग व्यवसाय स्थापना गरे नेपालको पूर्व–पश्चिम उत्तर–दक्षिण चारैतर्फ ढुवानी गर्न सजिलो हुने, सडक, बाटो, पानी जस्ता पूर्वाधारको विकास, भारतबाट कच्चा पदार्थ ल्याउन सिमानाका नजिकै र सहज हुनु, बुद्धजन्मस्थल लुम्बिनी क्षेत्र । विमानस्थलको सुविधा र यहाँबाट देशका चारैतिर जोडिएका सडक सञ्जालका कारणले बुवाले रूपन्देही (भैरहवा क्षेत्रं) चयन गर्नु भएको थियो, वास्तवमा बुवाको दूरदर्शी सोचका हामीहरू सफल रूपमा अघि बढन सक्यौं, पञ्चकन्या गु्रपका उपाध्यक्ष धु्रवकुमार श्रेष्ठले भन्नुभयो ।

श्रेष्ठले भने जस्तै माथिकै पाँच छ कारणले गर्दा अहिले रूपन्देही अर्थात् लुम्बिनी क्षेत्रमा लगानीकर्ताहरूको आकर्षण बढिरहेको छ । स्वदेशी लगानीकर्ताहरू मात्र नभई बाह्य लगानीकर्ताहरू समेत यो क्षेत्रमा लगानी गर्न उत्सुक भइरहेको पाइन्छ ।

यहाँस्थित गौतमबुद्ध विमानस्थलको स्तरोन्नति गरी अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा निर्माण कार्य अन्तिम चरणमा पुग्नु, निर्यातजन्य उद्योगका रूपमा स्थापित देशकै पहिलो विशेष आर्थिक क्षेत्र (भैरहवा सेज) मा उद्योगहरू स्थापनाका लागि पूर्वाधार बनिरहनु, कृषि तथा पशुपालनतर्फ देशकै अग्रस्थानमा रहनुजस्ता विविध कारण मात्र होइन विश्वमा चर्चित क्षेत्र बुद्धजन्मस्थल लुम्बिनी यही रहनु जस्ता कारणले पनि धेरै संभावनाहरू देखेर लगानीकर्ताहरूको आकर्षण यँहा बढेको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपाने बताउँनुहुन्छ ।

नेपाल भारतको सबैभन्दा ठूलो स्थल नाका बेलहिया÷सुनौली यही छ । यो नाकाबाट स्थलमार्ग हुँदै नेपालमा सबैभन्दा बढी तेस्रो मुलुकका (भारतबाहेक) पर्यटक भित्रिने गरेका छन् । साढे तीन वर्ष अघि भएको तराई मधेश आन्दोलनका क्रममा मुलुकका अन्य नाकाहरू ठप्प भई आयात निर्यात शून्य सरह हँुदा यहाँको बेलहिया भैरहवा नाका एकाध घटना बाहेक बन्द हुन पाएन भने नेपाललाई असफल हुनबाट जोगाउँदा लाइफलाइनका रूपमा यो नाका रहन पुगेपछि झन् यो क्षेत्र चर्चित हुन पुगेको हो । त्यसैले पनि यो क्षेत्रमा लगानीकर्ताहरूको आकर्षण बढिरहेको छ, अध्यक्ष न्यौपानेले बताउनुभयो ।

अहिले रुपन्देही क्षेत्र लगानीकर्ताहरूका लागि तुरुपको एक्का जस्तै बनेको छ । रुपन्देहीमा लगानी गरे खेर जाँदैन भन्ने उनीहरूको बुझाइ पनि छ । वास्तवमा भन्ने हो भने यस क्षेत्रहरू शान्तिका अग्रदूत गौतमबुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वारका रूपमा रहेको भैरहवा बुद्धजन्मस्थल लुम्बिनीसहित बुटवल र त्यस वरपरका शहरी तथा शहरउन्मुख ग्रामीण क्षेत्रले समृृद्ध लुम्बिनीको खाका बनाइसकेको छ ।
पूर्वाधार विकास, ठूला सडक सञ्जाल, विद्युतीकरण, सिँचाइ, पिउने पानी, मेडिकल कलेज, अस्पतालहरू, बेलहिया बुटवल सिक्स लेन सडक, निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल, विशेष आर्थिक क्षेत्र सेज, कृषि पशुलपालनमा फड्कोलगायत यहाँका समृद्धिका निर्विकल्प जगहरू रहेको उद्योग व्यापार संगठन रूपन्देहीका अध्यक्ष नारायणप्रसाद भण्डारीले बताउनुभयो ।

संभावना र समृद्धिको खाकाहरू देखिँदै जाँदा लगानीहकर्ताहरू पनि यस क्षेत्रमा आइरहेका छन् । पर्यटन उद्योगमा समेत लगानी बढिरहेको छ । भैरहवा नजिकै चिल्हिया क्षेत्रमा वैदेशिक लगानी समेत रहेको सिल्भर हेरिटेज गु्रपले पाँचतारे टाइगर रिसोर्ट सञ्चालनमा ल्याएको छ । पश्चिम नेपालको पहिलो पाँचतारे रिसोर्ट अहिले भारतीय पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै गएको छ भने अन्य विदेशी पर्यटकहरूको पनि गन्तव्य बनिरहेको छ ।

भारतसँगको सीमा नाका नजिकै, भारतको राजधानी दिल्ली स्थलमार्ग हुँदै सुनौलीबाट १५ घन्टामै पुग्न सकिने नजिकैको सहर, भैरहवाको निर्माणधीन अन्तर्राष्ट्रिय विमानस्थल, बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्र यही रहेका जस्ता कारणले गर्दा सिल्भर हेरीटेजले भैरहवा क्षेत्रमा ५ अर्ब २० करोड बढीको लगानीमा रिसोर्ट निर्माण गरी सञ्चालनमा ल्याएको हो । यो क्षेत्रमा लगानीकर्ताहरू स्वदेशी या विदेशी जो होस् पर्यटन क्षेत्रमा पनि आकर्षित भइरहेको सिद्धार्थ होटल एसोसिएसन सानका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ बताउँनुहुन्छ । भैरहवा लुम्बिनी क्षेत्रमा बढी संभावना देखेर होटल पर्यटन व्यवसायमा लगानीकर्ताहरू आकर्षित भइरहेका छन् । जसरी यहाँको संभावना देखेर टाइगर प्यालेस रिसोर्ट निर्माण भई सञ्चालनमा आयो त्यसरी नै पर्यटन क्षेत्रमा लगानी आइरहेका छन् र भविष्यमा अझै बढ्ने निश्चित छ, होटल एशोसिएसन नेपालका केन्द्रीय सदस्यसमेत रहेका श्रेष्ठले भन्नुभयो ।

लुम्बिनीमा अष्ट्रेलियन समूहले पाँचतारे होटल निर्माण सुरु गरेका छन् । स्थानीय पर्यटन व्यवसायी पवन हलवाईले आफ्ना साथी राजीव बेरीवालसित मिलेर लुम्बिनीमै पाँचतारे होटल पवन प्यालेस इन्टरनेसनल निर्माण सम्पन्न गरेका छन् । लुम्बिनीमै पर्यटन व्यवसायीहरू योगेन्द्र शाक्य सहितको टिमले अर्बौं लगानीमा लुम्बिनी भिलेज निर्माण गर्दैछन् जसमा पर्यटकका लागि आवश्यक सबै पूर्वाधार हुनेछन् ।
बुद्ध जन्मस्थल लुम्बिनी र निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलका कारण भबिश्यमा यो क्षेत्र पर्यटनमा लगानीका लागी अति सुरक्षित तथा आकर्षक क्षेत्र बन्दै गएको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस नाट्टा नेपाल प्रदेश ५ का अध्यक्ष बिष्णु प्रसाद शर्मा बताउनुहुन्छ ।

पर्यटन क्षेत्रमा मात्रै २ ठूला होटलमा सत प्रतिशत विदेशी लगानी छ । भैरहवा क्षेत्रको टाइगर प्यालेस र लुम्बिनीको होटल लुम्बिनी कासाई पूर्ण रुपमा बिदेशी लगानीको होटल हो । दुवैमा गरी करिब ७ अर्ब रुपैयाँ लगानी छ । अब १ वर्षभित्र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य सम्पन्न भई कम्तीमा बौद्धमार्गी रहेका देशमा मात्रै उडान गर्न सके वार्षिक १२ लाख बढी विदेशी पर्यटक भित्याउन सकिने र त्यस्का लागि पर्याप्त होटलको आवश्यकता रहेकाले पनि त्यस्मा संभावना बढी देखेर अहिले होटल क्षेत्रमा लगानी बढेको हो र भविष्यमा पनि यो क्षेत्रमा लगानी सुरक्षित र भरपर्दो देखिएको छ ।

यो क्षेत्रमा उद्योग र पर्यटन क्षेत्रमा लगानीकर्ताहरूको आकर्षण बढिरहेको र भविष्यमा पनि पर्यटन र उद्योग तथा कृषिमा स्वदेशी विदेशी लगानीको संभावना बढने भएकाले पनि सरकारले यसतर्फ ध्यान दिँदै भएका लगानीहरूलाई सुरक्षित र आउने लगानीकर्ताहरूलाई थप प्रोत्साहन हुने वातावरण बनाउन जरुरी रहेको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य (कर्पोरेट) तथा अर्घाखाँची सिमेन्टका प्रबन्ध निर्देशक राजेश कुमार अग्रवाल बताउँनुहुन्छ ।

रुपन्देहीका उद्योग व्यवसाय, पर्यटन, कृषी लगायतका क्षेत्रहरूमा रुपन्देहीका बैंक तथा वित्तीय संस्थाहरूको मात्रै १ खर्ब ४७ अर्ब बढी लगानी छ । रुपन्देही जिल्लामा स्वदेशी लगानीसँगै भारत, चीन, जापान, अमेरिका, अष्ट्रेलिया, डेनमार्कलगायत देशका व्यवसायी लगानी गरेका छन् । पछिल्लो समय उद्योगमा लगानीका लागि आउने चिनियाँ कम्पनी पनि बढेका छन् । रूपन्देहीमा ठूला उद्योग ३ सय २० वटा छन् । कारोबार दैनिक


प्रकाशित | ३० चैत्र २०७५, शनिबार १०:०५